काठमाडौं । शिक्षा मन्त्रालयमा वार्ताका लागि गएका शिक्षकका प्रतिनिधिलाई सिंहदरबारको गेट पास नदिएपछि मन्त्री र शिक्षकको वार्ता भाँडिएको छ । यसअघि शिक्षा मन्त्रालयले वार्ताका लागि २५ जना आउने र उनीहरूलाई प्रवेश पास उपलब्ध गराउन भन्दै पत्र सार्वजनिक गरेको थियो ।
तर शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने उक्त नामहरू मन्त्रालय आफैँले तयार पारेको बताएका छन् । उनले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने. शि. महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं, आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’
शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो । तर, मन्त्रालय नपुगी टोली फर्किएको हो ।