काठमाडौँ । शिक्षकका माग सम्बोधन गर्न लागि परेकी शिक्षामन्त्री विद्या भट्टराईले बैशाख ८ गते अप्रत्यासीत रुपमा राजीनामा दिएपछि सबै चकित परे । भट्टराईलाई पदबाट राजीनामा दिन बाध्य बनाउने प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।
यसबारेमा शैली न्यूजले ‘शिक्षकका माग सम्बोधन नगर्ने मुडमा ओली, यस्तो छ शिक्षामन्त्री भट्टराईले राजीनामा दिनुको भित्री रहस्य’ शिर्षकमा समाचार प्रकाशित गरिसकेको छ । खैर, २७ वर्ष क्याम्पसमा अध्यापन गराएकी भट्टराईले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले नेकपा एमालेबाट कसलाई शिक्षा मन्त्रालयको जिम्मेवारी देलान् ? भन्ने आम चासो थियो ।
आम चासोकाबीच गत बुधबार प्रधानमन्त्री ओलीले समानुपातिकबाट सांसद बनेका रघुजी पन्तलाई शिक्षामन्त्री बनाइदिए । विद्या भट्टराईले अप्रत्यासीत रुपमा पदबाट राजीनामा दिदा चकित परेका नागरिक फेरि रघुजी शिक्षामन्त्री बन्दा चकित परे । चकित पर्नुको कारण हो, ‘शिक्षा क्षेत्रमा रघुजीलाई खासै ज्ञान छैन । उनको पढाइ पनि सामान्य नै थियो ।’
यद्यपी बिहीबार पद तथा गोपनियताको शपथ लिदैँ शिक्षामन्त्री पन्तले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्ने घोषणा गरे । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शपथ लिदा भनेका थिए, ‘वार्ताबाट शिक्षकहरुका माग सम्बोधन गरेर उनीहरुलाई घर फर्काउछु’ यसैबीच शीक्षामन्त्री पन्तले शुक्रबार शिक्षक महासंघको टोलीलाई छलफलका लागि मन्त्रालयमा बोलाए ।
के शिक्षामन्त्रीले पहिलो प्रयासमै शिक्षकसँग सहमित गर्न सक्लान ? यो प्रश्न सबैको मनमा खडा भएको थियो । तर, शिक्षामन्त्री पन्तलाई पहिलो गासमै ढुंगा लाग्यो अर्थात पहिलो प्रयास असफल भयो । उनको आह्वानमा वार्ता गर्न सिंहदरबार शिक्षक महासंघको टोली पनि पुगेको थियो । शिक्षक महासंघको टोली सिंहदरबारको गेटबाटै फर्किपछि शिक्षामन्त्री पन्त निराश भए ।
शिक्षकसँग वार्ता गर्न उत्साहित बनेका मन्त्री पन्तले शिक्षकलाई गेटबाटै नर्फकन पनि आग्रह गरे । मन्त्री पन्तले मन्त्रालयका सहसचिव र डीएसपीलाई सिंहदरबारको गेटमा पठाएर शिक्षकहरुलाई फर्काउने प्रयास गरेका हुन् । तर, शिक्षकहरुले उनीहरुको कुरा नसुनी त्यहाँबाट हिडे ।
सरकारसँग वार्ता गर्नको लागि मन्त्रालयले नै २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीले बैठक बहिस्कार गरेर फर्केको हो ।
वार्ताको लागि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली आफूहरुले तयार नगरेको भन्दै महासंघले बैठक बहिस्कार गरेर गेटबाटै फर्केको ध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।
‘नवनियुक्त मन्त्रीसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ अध्यक्ष सुवेदीले भने ।
मन्त्रालयले २५ सदस्यीय टोली बनाएको भनेर महासंघले आपत्ति जनाएको छ । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुद कुमार सिंह सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि आजको वार्ता भाँडिएका बताए । उनले भने,’ वार्ताको लागि त सरकारले लिस्ट बनाउने होइन नि हामी को को वार्तामा आउन चाहन्छौं त्यही अनुसार बनाउँछौं । त्यही भएर महासंघको अध्यक्षज्यूले आपत्ति जनाएर गेटबाट फर्किनुभएको हो ।’
शिक्षामन्त्री पन्तले वार्ताका लागि आफू अनुकुल शिक्षकको टोली बनाएपछि पहिलो गासमै ढुंगा लागेको हो । आफ्नो पहिलो प्रयासमै अर्थात वार्ताबाट शिक्षकलाई मनाएर घर फर्काउने मन्त्री पन्तको प्रयास असफल भएपछि सामाजिक सञ्जालमा पन्तको विरुद्धमा टिकाटिप्णी भइरहेका छन् । एकातर्फ ज्ञान नभएकालाई शिक्षा मन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ । भने, अर्को तर्फ पहिलो प्रयास नै असफल भएपछि मन्त्री पन्त निराश बनेका छन् ।