काठमाडौं । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती रहेका छन् ।
अन्य दुई मृतक-एक पुरुष र एक महिला-को पहिचान खुल्न बाँकी रहेको छ । उनीहरूको शव गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा राखिएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १-०१-००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ ।
गम्भीर, मध्यम र समान्य गरी दुई दर्जन यात्रु घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । बसमा ३५ जना सवार रहेका थिए । बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जी रहेका छन् ।
प्रहरी स्रोतका अनुसार बसलाई इलाका प्रहरी कार्यालय कन्चनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।