काठमाडौँ । भारतको कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि आतंकवादी जुनसकै बेला नेपाल आउन सक्ने आशंका गरिएको छ । नेपाल खुला सीमाना भएको मुलुक हो ।
यहाँका नाकामा त्यति कडाइ पनि हुदैँन । त्यसैले अन्य देशका अपराधिहरुले लुक्नको लागि नेपाललाई प्राथमिकतामा राख्छन् । यसरी अपराधी नेपाल आएर लुकेका थुर्पै घटना छन् । भारतको कश्मीरमा आतंकवादीले हिन्दुहरुलाई ताकी ताकी गोली हानेर हत्या गरेपछि नेपालमा पनि त्रास फैलिएको छ । अर्कोतर्फ कश्मीर घटनामा नेपालले भारतलाई समर्थन गरेको छ ।
जसले गर्दा नेपालका नाकामा सुरक्षा कडा गरिएको हो । जसअनुसार कोसी प्रदेशका सीमा नाकामा कडा निगरानी गर्न थालिएको छ। सीमा नाकामा अहिले बाक्लो संख्यामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी खटाइएको छ। कोसी प्रदेशका दुई ठूला नाका जोगवनी र मेची नाकामा थप कडाइ गरिएको छ भने पशुपति नगर नाकामा निगरानी बढाइएको हो।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अवैध गतिविधि हुन नदिन तथा गलत मानिसको प्रवेश रोक्न निगरानी बढाइएको बताए।
नेपालतर्फ कडाइ गरिएको विषयमा भारतीय सुरक्षा अधिकारीसँग कुराकानी भने नभएको उनले बताए। ‘हामीले हाम्रो सुरक्षाको विषयलाई ध्यान दिएका छौँ’, उनले भने, ‘हामीले आन्तरिक रूपमा निगरानी बढाएका छौँ।’ भारतमा भएका गतिविधिका असर नेपालमा पनि पर्ने सम्भावनालाई ध्यान दिँदै सीमा नाकामा सतर्कता अपनाइएको उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारीले भने, ‘अलि फोकस हुनु है भन्ने हो। अलि त्यस्ता तत्त्व प्रवेश होलान् कि भन्नेबारेमा ध्यान दिने कुरा मात्रै हो।’ पशुपति नाकामा पनि कडाइ गरिएको छ।
इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सीमा नाकामा थप सतर्कता अपनाइएको जानकारी दिइन्। भारतबाहेक अन्य मुलुकबाट आउन सक्ने मान्छेहरूको हकमा कडाइ गरिएको छ ।
कोसी प्रदेशमा नेपाल प्रवेश गर्ने मुख्य चार नाकामा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी र सुनसरीको भण्टाबारी हुन्। यसबाहेक थुप्रै साना भन्सार नाका पनि छन्।