आइतवार, आश्विन २५ गते २०८३

कांग्रेसको महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको भदौ १६–१९ गतेसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ ।

बिहीवारबाट सुरू भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको छ ।मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्ने गरी कुन मितिलाई सार्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले मंसिरमा स्थानीय तहका अधिवेशन सुरू गर्ने गरी केन्द्रीय तहको महाधिवेशनलाई माघमा पुर्‍याउने तयारी गरेका छन् । उनले आफूनिकट नेताहरुलाई यसबारे जानकारी गराएका छन् ।

‘नयाँ मितिबारे शीर्ष तहमा बुधवार छलफल भयो, त्यसपछि बिहीवारबाट केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ, मंसिरमा प्रक्रिया सुरू गर्ने र माघमा महाधिवेशन गर्ने विषयमा सभापतिको जोडबल छ,’ प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले भने ।

तर केन्द्रीय कार्यसमितिको बिहीवारको बैठकमा महाविधवेशनको नयाँ मितिबारे भने कुनै छलफल नभएको ती नेताले जनाएका छन् । बुधवारको पदाधिकारी बैठकमा सभापति देउवाले भदौमा प्रक्रिया सुरू गर्न सम्भव नहुने भन्दै पुन: सार्ने गरी मिति तोक्नुभन्दा अब मिति सार्न नपर्ने गरी तोकिने बताएका थिए ।

सभापति देउवाको धारणामा वरिष्ठ नेता रामचन्द्र पौडेल भने असहमत बनेका थिए । उनले भदौमा नै प्रक्रिया सुरू गर्नुपर्ने भन्दै आफ्नो असहमति देखाएका थिए । तर अहिले भने सबै शीर्ष नेता महाधिवेशनको मिति सार्ने विषयमा एकमत देखिएका छन् ।

बिहीवारको बैठकमा निर्वाचन समितिले बनाएको निर्वाचन निर्देशिका महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका छन् । समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले र क्रियाशील छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेश गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार