काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय चौतर्फी घेराबन्दीमा परेका छन् । आफू चौतर्फी घेराबन्दीमा परेपछि ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको साथ खोजेका छन् ।
यसभन्दा अघि ओली एकीकृत समाजवादीलाई पार्टी नभएको बताउँदै आएका थिए । एमाले फुटाएर अलग भएपछि माधव नेपाललाई त झनै ओलीले देख्नै सक्दैनथे । तर, बुधबार भने माधव नेपाललाई हेर्ने ओलीको शैली फरक देखियो ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित अन्य नेताहरू ओलीलाई मुलुकमा देखापरेका विभिन्न समस्या समाधान र सरकारले ल्याउने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट सुझाव दिनका लागि बालुवाटार पुगे ।
अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव प्रकाश ज्वालालगायत १५ नेता बालुवाटार पुगेका हुन् । र, ओली निकै नरम देखिए । अरु बेला एकीकृत समाजवादीका नेतालाई नटेर्ने ओलीले बुधबार भने दुई घण्टा छलफल गरे । साथै उनले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग ‘कोर टिम’ बनाएर छलफल गर्न प्रस्ताव गरेका छन्।
ज्ञापनपत्र बुझाउन गएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन्।
नेताहरूले दरबारिया र प्रतिगामी चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए। पार्टीको तर्फबाट राखिएको ज्ञापनपत्र महासचिव घनश्याम भुसालले पढेर सुनाएका थिए भने पार्टीको तर्फबाट आधिकारिक धारणा राख्ने काम अध्यक्ष माधव नेपालले गरेका थिए।
‘नीति तथा कार्यक्रम र बजेटमा आफ्ना माग र सरोकार समावेश गर्न तपाईंहरू यसरी पार्टीबाट निर्णय नै गरेर आउनुभएको छ, तपाईंहरूको यो शैली निकै राम्रो लाग्यो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव प्रकाश ज्वालाले भने, ‘प्रतिगामी चलखेलप्रति सरकार सचेत छ। उनीहरूको प्रयास सफल हुन दिइने छैन।’
ज्वालाका अनुसार, समय अभाव र प्रतिनिधिमण्डल पनि ठूलो भएकाले ओलीले अलि सानो टोली बनाएर छलफल गर्न अध्यक्ष माधव नेपालसँग प्रस्ताव गरेका थिए।
उपमहासचिव ज्वालाका भनाइमा, कोर टिम बनाएर छलफल गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावप्रति अध्यक्ष नेपाल पनि सकारात्मक देखिएका छन्।
तर, ओलीले यसरी माधव नेपालसँग दुई घण्टा छलफल गर्नुको कारण भनेको उनी पछिल्लो समय चौतर्फी घेराबन्दीमा परेकाले नेपालसँग नजिक हुन खोजेका हुन् । पछिल्लो समय ओली सरकारको सडकदेखि सदनसम्म आलोचना भइरहेको छ ।