काठमाडौँ । भारत र पाकिस्तान फेरि वारपारको लडाईँमा उत्रिने बाटो फराकिलो बन्दै गएको छ । बैशाख ९ गते जम्मु-कश्मीरको पहलगाममा आतङ्कवादीले एक नेपालीसहित २६ जनाको हत्या गरेपछि यी दुई देशबीच फेरि चिसिएको सम्बन्ध सैनिक कारबाहीमा पुग्ने त हैन भन्ने धेरैको डर र चासो छ ।
पहलगाम हमलाको दोषी भारतले पाकिस्तान भएको निष्कर्ष निकालेर उसविरुद्ध एकपछि अर्को निर्णय गरिरहेको छ । त्यसको उत्तर दिने खालका निर्णय गर्न पाकिस्तान पनि पछि छैन । जहाँ भारतले सिन्धु जल सम्झौता निलम्बन गरेको छ भने पानी रोकिए युद्ध मान्ने पाकिस्तानले बताएको छ । यतिमात्र नभएर आफ्नो आकाशमा उडान भर्न दुवै देशले एक अर्कालाई प्रतिबन्ध लगाएका छन् ।
पछिल्लो घटनाक्रम हेर्दा कतै आणविक शक्ति सम्पन्न देशहरू युद्धमै होमिने त हैनन् ? भन्ने प्रश्न उठेको हो । त्यस्तै यसले ल्याउन सक्ने परिणामबारे विश्वको ध्यान केन्द्रीत हुँदा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आफ्नो तर्फबाट तत्काल हमला गर्न सक्ने बताएका छन् । समाचार संस्था रोयटर्सलाई अन्तरवार्ता दिँदै ख्वाजाले पाकिस्तानी सेनालाई भारतले गर्न सक्ने हमलाबारे सजग गराइएको पनि बताएका छन् ।
उक्त अन्तर्वार्तामा ख्वाजा आसिफले यदि मुलुकको अस्तित्वमाथि सिधै खतरा उत्पन्न भयो भने मात्र पाकिस्तानले परमाणु अस्त्रको प्रयोग गर्ने बताएका छन् । यसै सन्दर्भमा सिन्धु जल सम्झौताको कुरा गर्दा भारत यदि यस निलम्बनमार्फत पानी पूरै रोक्न सफल भयो भने पाकिस्तानको लागि धेरै कठिन स्थिति बन्न सक्छ ।
त्यो त्रासले गर्दा पाकिस्तानले यदि सिन्धुको पानी रोकेको खण्डमा भारतमा रगतको खोला बग्ने धम्की दिइरहेको छ । आफूसँग संसारको शक्तिशाली आणविक हतियार भएकाले भारतलाई उडाइ दिने पाकिस्तानको धम्की हो । यता भारत पनि युद्ध गर्नको लागि तयारी गरिरहेको छ । भारत र पाकिस्तानबीच युद्ध भएको खण्डमा कसले जित्ला ? यो प्रश्नको जवाफ यी दुई देशको रक्षा बजेट, सेना र हतियारले दिन्छ । यी कुरामा पाकिस्तानभन्दा भारत निकै बलियो छ ।
भारत र पाकिस्तानसँग के कति शक्ति छ ?
भारतसँग साढे १४ लाख सक्रिय सैनिक छन् । जो विश्वको चौथो ठुलो सेना भएको मुलुक भारत हो । पाकिस्तानसँग साढे ६ लाख सेना छन् ।
भारतको रक्षा बजेट ८० अर्ब डलरको आसपास छ । पाकिस्तानको रक्षा बजेट जम्मा आठ अर्ब डलरको आसपास छ ।
सक्रिय र रिजर्भ जनशक्ति
भारतको सक्रिय सैनिक संख्या १४ लाख ५५ हजार ५५० छ । यो संख्याको आधारमा भारत विश्वको चौथो ठुलो सेना भएको देश हो ।
पाकिस्तानको सक्रिय सैनिक संख्या ६ लाख ५४ हजार छ । भारतको रिजर्भ सेना ११ लाख ५५ हजार छन् । जबकि पाकिस्तानको रिजर्व सेना जम्मा ५ लाख ५० हजार छ ।
रक्षा बजेट
कुनै पनि देशको सेनाको शक्तिबारे थाहा पाउन त्यस देशको रक्षा बजेटबारे थाहा पाउनु आवश्य हुन्छ । भारतको रक्षा बजेट २०२४/२५ मा करिब ७४ अर्ब डलर रहेको छ । जुन विश्वको तेस्रो ठूलो रक्षा बजेट हो । पाकिस्तानको रक्षा बजेट भने जम्मा १०.३ अर्ब डलर आसपास रहेको छ । भनेपछि पाकिस्तानको भन्दा भारतको रक्षा बजेट सात गुणाभन्दा बढि छ ।
हवाई शक्ति
भारतसँग २ हजार २२९ वटा विमानहरू छन् । यसमा राफाल जेट्स र एस ४०० वायु रक्षा प्रणाली जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन् ।
जबकी पाकिस्तानसँग हवाई शक्ति १ हजार ३९९ विमानहरू मात्र छन् । जहाँ भारतले ५१३ लडाकु विमानहरू सञ्चालनगर्दछ भने यस्ता विमान पाकिस्तानसँग ३२८ वटा मात्र छन् । भारतसँग डेडिकेटेट अटयाक एयरक्राफ्टको संख्या १३०, ८९९ हेलिकप्टरहरू छन् भने जसमा ८० वटा आक्रमणकारी हेलिकप्टरहरू छन्। यता पाकिस्तानसाँग ९० आक्रमणकारी विमान, ३७३ हेलिकप्टर र ५७ आक्रमणकारी हेलिकप्टरहरू मात्र छन् ।
स्थल सेना
भारतसँग ४ हजार २०१ ट्याङ्क र १ लाख ४८,५९४ बख्तरबन्द सवारीहरू छन् । पाकिस्तानसँग २ हजार ६२७ ट्याङ्क र १७ हजार ५१६ बख्तरबन्द सवारीहरू छन् ।
नौसेना शक्ति
भारतको नौसेना २९३ जहाजहरूमा आधारित छ । जसमा विमानवाहक पोत र परमाणु पनडुब्बीहरू पनि समावेश छन् । पाकिस्तानको नौसेना भने १२१ ज्हाजहरूको साथमा रहेको छ ।
त्यस्तै भारतले दुई वटा विमानवाहकहरू सञ्चालन गर्दछ भने पाकिस्तानसँग एउटा पनि छैन। त्यस्तै भारतसँग १८ वटा पनडुब्बी,१३ वटा विनाशकारी जहाजहरू छन् । तर पाकिस्तानसँग ८ वटा मात्र पनडुब्बी छ । भारतको नौसेना फ्लीटमा १४ वटा फ्रिगेट, १८ वटा कोर्भेट र १३५ वटा गस्ती जहाजहरू पनि छन् । जुन संख्या र प्राविधिक परिष्कार दुवैमा पाकिस्तानका समकक्षीहरूभन्दा धेरै अगाडि छन्।
परमाणु हतियार
भारतसँग १७२ परमाणु वारहेड्स छन् । पाकिस्तानसँग १७० परमाणु वारहेड्स छन् । परमाणु वारहेड्समा पाकिस्तान भारतको हाराहारीमा अर्थात दुई परमाणुको मात्र फरक छ । त्यसैले पाकिस्तानले धम्की दिदैँ आइरहेको छ ।
आफूले चाहेको खण्डमा भारतलाई सेकेण्डमै उडाउने धम्की परमाणू शक्तिमा पाकिस्तान बालिरहेको हो । तर, समग्रमा भन्दा सैन्य शक्तिमा पाकिस्तान भन्दा भारत निकै बलियो देखिन्छ ।
भारतको सैन्य शक्ति ठूलो जनशक्ति र उच्च बजेटमा आधारित छ भने पाकिस्तानको रणनीति मुख्यतः परमाणु हतियार र चीनसँगको रणनीतिक साझेदारीमा आधारित छ ।