काठमाडौँ । पाकिस्तानी महिलासँग विवाह गरेपछि भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले जवान मुनिर अहमदलाई जागिरबाट बर्खास्त गरेको छ।
सीआरपीएफको ४१औँ बटालियनका सिपाही मुनिर अहमदले पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग विवाह गरेको आरोप छ।
उनले मिनलको भिसा सकिएपछि पनि उनलाई अवैध रूपमा भारतमा राखेको दाबी छ। मिनल मार्च २०२५ मा छोटो अवधिको भिसामा भारत आएकी थिइन्। उनले दीर्घकालीन भिसाका लागि आवेदन दिएकी छन्, जुन गृह मन्त्रालयमा विचाराधीन छ।
अप्रिल २२ मा पहलगाम आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी नागरिकको भिसा निलम्बन गरेको छ। पाकिस्तानी महिला मिनल खानलाई पनि देश छोड्न सूचना दिइएको थियो।
दैनिक भास्करका अनुसार सीआरपीएफ जवानले आफ्नी श्रीमतीलाई देशनिकालाबाट रोक्न जम्मुको भालवाल अदालतमा अपिल दायर गरेका थिए। जसअनुसार मिनलले मे २०२४ मा मुनिर खानसँग अनलाइन विवाह गरेकी हुन्।
मुनिर अहमदको परिवार जम्मु(कश्मीरको भलवालको राब्ता तहसिल नजिकैको हन्डवाल गाउँमा बस्छ। अदालतको आदेशपछि मिनललाई देश निकाला गरिएको थिएन, तर यो विषय मिडियामा आएपछि सीआरपीएफले मुनिरलाई जागिरबाट हटाएको हो।