काठमाडौँ । भारतको जम्मु कश्मिरस्थित पहलगाममा हिन्दुहरूको हत्या गर्ने आतंकवादी संगठन हो- द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) । यो समुह पाकिस्तानमा रहेको आतंकवादी संगठन लश्कर ए तइबाको छाया समुह हो । टीआरफका संस्थापक मुहम्मद अब्बास शेख हुन् । उनी २३ अगस्ट २०२१ मा भारतीय सुरक्षा बलसँगको मुठभेडमा मारिएका थिए।
१९९६ मा आतंकवादमा सामेल भएका मुहम्मद पहिले हिजबुल मुजाहिद्दीनसँग सम्बन्धित थिए। उनी कश्मीरमा सुरक्षा बल र सर्वसाधारणमाथि धेरै आक्रमण गर्ने मध्यमा पर्छन । उनी कश्मीरका दश मोस्ट वान्टेड आतंकवादीहरूमध्ये एक थिए । उनको काम भनेको आतंकवादलाई पुनर्जीवित गर्ने र नयाँ आतंकवादीहरू भर्ती गर्ने हो ।
अब्बास शेख हतियार खरिद गर्ने र हिन्दुहरुमाथि हमला गर्ने नेताका रुपमा परिचित थिए । उनी पाकिस्तानमा रहेको आतंकवादी संगठन लश्कर ए तइबासँग पनि नजिक थिए । ताइबा लगायतका आतङ्कवादी संगठनलाई फन्डिङ गर्ने काम चाहिँ पाकिस्तानी गुप्तचर संस्था ‘आइएसआइ’ ले गर्ने गर्छ ।
पाकिस्तानी भूमीमा अहिले झण्डै ४ दर्जन आतंकवादी सशस्त्र संगठनहरुले आश्रय लिइरहेका छन् । सन् २००१ मै विश्वको प्रमुख आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनपछिका नेता यमिन अल जवाहिरीले पाकिस्तानको मेगासिटी कराँचीमा अलकायदाको अखडा नै खोलेका थिए ।
अलकायदाकै प्रमुख नेता लादेनलाई अमेरिकी सैनिकको नेभी टिमले सन् २०११ को मे २ तारिखको मध्यरातमा सैनिक कारबाही गरी पाकिस्तानकै अबोट्टावादमा मारिदिएको थियो।
पाकिस्तानी सैनिक एकेडेमीनजिकै लादेनलाई मारिएको घर थियो । अफगान तालिवान, हाजिब इस्लामी र हक्कानी नेटवर्कजस्ता चरमपन्थी संगठन फैलाउने काम पाकिस्तानकै भएकोे आरोप लाग्ने गरेको छ । र, पाकिस्तानले जैश-ए-मोहम्मद र हर्कत-उल-मुजाहिद्दिन जस्ता आतंकवादी संगठनलाई आफ्नो भूमिमा संरक्षित गरेर राखेको छ । यी संगठनको उद्देश्य भनेको कश्मीरलाई पाकिस्तानमा गाभ्ने हो ।
जम्मु कश्मीर क्षेत्रमा सबैभन्दा खतरनाक आतंकवादी संगठन हो, जैश । यस संगठनले आइएसआइको सहयोगमा भारतमाथि आतंकवादी हमला गर्ने गरेको छ । आतंकवादले कुनै सकारात्मक र रचनात्मक योगदान गर्दैन । बरु निर्दोष मान्छेको ज्यान लिन्छ, र द्वन्द्व बढाउँछ । तर, पाकिस्तानले किन आतंकवादी जन्माउछ ? पाकिस्तानले आतंकवादी जन्माउनुका पछाडि थुर्पै कारण छन् । पाकिस्तानमा भएका आतंकवादी संगठनको काम भनेको मुस्लिम बाहुल्य बस्तीमा इस्लामिक कट्टरता फैलाउनेदेखि मस्जिद र मदरसा विस्तार गर्नु हो ।
सार्कलाई बिथोल्ने काम जैश-ए-मोहम्मद र हर्कत-उल-मुजाहिद्दिन जस्ता आतंकवादी संगठनहरुले गरिरहेका छन् । अन्य देशमा अस्थिरता ल्याउनमा उनी यी संगठनको हात हुन्छ । अर्को कारण भनेको भारतबाट अलग भएपछि कश्मीरलाई आफ्नो क्षेत्रमा गाभ्नको लागि युद्ध गर्यो । भारत र पाकिस्तानबीच चार वटा युद्ध भएका छन् भने तीमध्ये सन् १९४७ को युद्ध, सन् १९६५ को युद्ध र सन् १९९९ को युद्ध कश्मीरको विषयलाई लिएर भएका थिए । तर, पाकिस्तान भारतसँग सबै युद्धमा पराजित भयो ।
त्यसपछि पाकिस्तान कश्मीरमा हमला गर्नको लागि आतंकवादी संगठन जन्माउन बाध्य भएको हो । र, आतंकवादी संगठनहरुले कश्मीर लगायत भारतमाथि पटक पटक आक्रमण गर्दै आएका छन् ।
कश्मीर विवाद
इतिहास हेर्दा कश्मीर कुनै समय स्वतन्त्र राज्य थियो । सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि त्यस बेला प्रिन्स्ली स्टेट भनिने यो राज्यलाई उसले छानेको देशमा समाहित हुने विकल्प दिइएको थियो। अर्थात बेलायतीहरूबाट सन् १९४७ अगस्ट १५ मा भारतको विभाजन र पाकिस्तानको स्थापना भयो ।
भारत स्वतन्त्र हुनेनै भएपछि अन्तिममा बेलायतीले भारत र पाकिस्तालाई दुई भागमा विभाजित गरेको थियो । पहिला पाकिस्तान सिर्जना भएपछि भारत स्वतन्त्रताको निर्णय बेलायतीले लिए । जुन विभाजनमा ठूला राज्य पञ्जाव र बंगाल समेत रेखांकनसहित विभाजित भए । त्यही विभाजनले अहिले संकट सिर्जना गरेको छ । त्यही बीचमा कश्मीरलाई त्यसै छोडिएको थियो । सो समयमा जम्मु कश्मिरलाई कता लैजाने निर्णय त्यहाँका महाराजा हरि सिंहलाई नै जिम्मा लगाइएको थियो ।
उनले भारत वा पाकिस्तान कुन रोज्ने भन्ने निर्णय गर्न सकेनन् । अर्थात उनले पाकिस्तानसँग यथास्थितिमा रहने अर्थात भारत वा पाकिस्तानमा आफ्नो राज्यलाई नगाभ्ने सम्बन्धी एउटा सम्झौतामा हस्ताक्षर गरे। त्यसले पाकिस्तानी भूमि हुँदै कश्मीरले यातायात तथा पारवहन लगायतका सुविधा प्राप्त गर्ने बाटो खोल्थ्यो । तर समस्या के भयो भने भारतले आफ्ना प्रतिनिधि नपठाएपछि उससँग सम्झौतामा हस्ताक्षर हुन सकेन ।
बरु कश्मीरलाई कुन देशमा गाभ्ने निर्णय गर्न भईरहेको यो ढिलाईकाबीच उक्त क्षेत्रका मुस्लिमहरूमाथि आक्रमण भएको हल्ला चल्यो । फलत सन् १९४७ को अक्टोबरमा पाकिस्तानी आदिवासीहरूको समूहले कश्मीरमा आक्रमण गर्यो । यता राजा हरि सिंहले पाकिस्तानी आदिवासीहरूले आक्रमणबाट बच्न भारतसँग सैन्य सहायता लिए। समस्या यहिबाट शुरु भयो । दुवै देश कश्मीर प्रवेश गरेको यो समयमा भारतका गभर्नर जेनरल लर्ड माउन्टब्याटनले कश्मीर अस्थायी रूपमा भारतमा आबद्ध भए शान्ति कायम हुने सुझाव दिए ।
त्यस्तै कश्मीरको अवस्था के हुने भन्ने अन्तिम टुङ्गोका लागि मतदान गर्ने विकल्प खुला राख्दा उपयुक्त हुने विश्वासमा माउन्टब्याटन थिए । तर त्यसै महिना हरि सिंहले सीमित रूपमा भारतको नियन्त्रणमा जाने सम्बन्धी एउटा सम्झौतामा हस्ताक्षर गरे। जुन सम्झौताले कश्मीरको विदेश मामिला र रक्षासम्बन्धी नीति भारतको हातमा पुग्यो । त्यसबेला देखि कश्मीर भारत र पाकिस्तानबीच युद्धको विउ बनेको छ ।