आइतवार, श्रावण २४ गते २०८३

ओली सरकारमाथि खतराको घण्टी, नाउपा सरकार छाड्ने तयारीमा

सोमवार , बैशाख २२, २०८२

काठमाडौँ । सरकार फेरि संकटतर्फ धकेलिएको छ । चैत २० गतेबाट आन्दोलनमा उत्रिएका शिक्षकसँग सहमति जुटेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई केही राहत मिलेको थियो ।

तर, वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरीलाई प्रहरीले अपहरणको शैलीमा पक्राउ गरेपछि नाउपा सरकार छाड्ने तयारीमा लागेको हो । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रका आधारमा प्रहरीले रेशमलाई पक्राउ गरेको थियो ।

त्यो पत्र सर्वोच्च अदालतका न्यायाधीशले दिएका हुन् की होइनन् ? भन्नेसमेत प्रहरीले पत्ता नलगाई रेशमलाई पक्राउ गरियो थियो । नाउपाका नेताहरूले रेशमलाई पक्राउ गर्नुमा शीर्ष नेताहरूको हात भएको बताएका छन् । त्यसदिन नाउपा र जनमतबीच पार्टी एकता हुदैँ थियो । तर, रेशमलाई पक्राउ गरेपछि पार्टी एकता हुन सकेन ।

पार्टी एकता रोक्न कांग्रेस एमालेका शीर्ष नेताहरूले खेल खेलेको आरोप लागेको छ । सरकारमा सहभागि नाउपाले रेशमलाई पक्राउबारे प्रधानमन्त्री ओलीलाई जवाफ दिन दुई दिनको अल्टिमेटम दिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिए।

उनले वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टीका संरक्षक चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइएको बताए।

उनले भने, ‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन। त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं।’ यदि नाउपाले सरकार छाडेको खण्डमा भने ओली सरकार संटकमा पर्नेछ ।

भएको के हो ?

वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै सर्वोच्च अदालतबाट डिल्लीबजार कारागारलाई पत्र पुग्छ । प्रहरीले पनि सत्यतथ्य नबुझी अपहरणको शैलीमा रेशमलाई पक्राउ गर्छ । टीकापुर प्रकरणबारे रेशमविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

सर्वोच्चको आदेशमा भन्दै पक्राउ गरेको समाचारले सर्वोच्च अदालतका न्यायाधीश नै चकित परे । हतार हतारमा सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र लेख्यो । रेशमलाई तत्काल छाड्नु त्यो पत्र आधिकारिक होइन भन्दै सर्वोच्चले प्रहरीलाई पत्र पठायो । र, पक्राउ परेको साढे पाच घण्टा पछि रेशम रिहा भए ।

रेशमलाई पक्राउ गर्नु भन्दै पत्र लेख्ने व्यक्ति हुन् सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट । अहिले उनलाई पक्राउ गरिएको छ । तर, विष्टलाई पत्र लगाउन माथिल्लो तहका नेताहरूको हात रहेको आशंका गरिएको छ । बुधबार नाउपा र जनमत पार्टीबीच पार्टी एकता हुदै थियो । पार्टी एकताका लागि रेशम प्रज्ञा भवन पुगेका थिए । पार्टी एकता हुन नदिन यो चाल रचिएको जनमत र नाउपाका नेताहरूको दावी छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशमलाल चौधरी पक्राउ पर्नु एउटा ठूलो षड्यन्त्र भएको बताएका छन् । रेशमलाई पक्राउ गर्न पत्र काटेका सर्वोच्च अदालतका अधिकृत एउटा मोहरा मात्रै भएको र निकै माथिल्लो तहबाट यो घटना भएको दाबी समेत उनले गरे। चौधरी रिहा भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै राउतले भनेका थिए, ‘कर्मचारीलाई त एउटा मोहरा मात्रै बनाइएको हो। म उहाँलाई विचरा मात्रै भन्नसक्छु। यो धेरै माथिबाट भएको हो।’ आफूहरुबीचको एकता भाड्ने प्रयासको रुपमा आजको घटना घटाइएको राउतको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार