आइतवार, श्रावण २४ गते २०८३

फेकनको कोषाध्यक्षमा पुडासैनीको उम्मेदवारी घोषणा, कोषलाई कम्तीमा १ करोडको बनाउने

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) को कोषाध्यक्षमा गौतम पुडासैनीले उम्मेदवारी दिने भएका छन् ।

आज दिउँसो केन्द्रीय कार्यालय डिल्लीबजारमा दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको उनले बताए । ‘म अहिले सह-कोषाध्यक्ष हुँ, अब कोषाध्यक्षमा उठ्छु, म सबै सदस्य साथीहरुको सल्लाहले नै अघि बढेको हुँ’ उनी भन्छन् ‘सह-कोषाध्यक्ष भएर अहिले खेलेको भूमिका पनि सबैले सम्झिरहनुभएको छ त्यसैले पनि सबैको सहयोग पाउँछु भन्ने अपेक्षा गरेको छु ।’ आगामी दुई वर्षका लागि शनिबार निर्वाचन हुँदैछ । फेकनमा २ सय ६१ मतदाता रहेका छन् । २०८० साल असार २३ गते भएको निर्वाचनबाट राजु निरौला अध्यक्ष रहेको नयाँ समिति बनेको हो, गौतम हाल सह-कोषाध्यक्ष हुन् ।

उनले उम्मेदवारीबारे फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘लामो समयदेखि शैक्षिक परामर्शसँग आबद्ध रही, यस संस्थालाई मजबुत र उद्देश्यअनुकूल बनाउने अभियानमा निरन्तर लागिरहेकै छु । संस्था संकटमा परेको बेलादेखि, विभिन्न सरकारी निकायसँग समन्वय गरी समाधानको बाटो पहिल्याउने काममा मैले सधैं अग्रसरता लिएको छु । एनओसी बन्द हुँदा मेरो आवाज पहिलोहरूमध्ये नै थियो । शिक्षा मन्त्रालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय वा केन्द्र सरकारका सम्बन्धित निकायहरूसँग पटक-पटक संवाद गरी, साथीहरूको समस्या समाधानका लागि म सधैं सक्रिय रहँदै आएको छु । वर्तमान कार्यसमितिमा सह-कोषाध्यक्षका रूपमा काम गर्ने अवसर पाएपछि, मैले जापान विभागमार्फत शिक्षक तालिम, सूचना सत्रहरू, विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कार्यमा नेतृत्वदायी भूमिका निभाएको छु । साथै, विभिन्न संस्था तथा निकायहरूसँग समन्वय गरेर प्रायोजन संकलन गर्ने र सबै कार्यक्रमहरूमा सकिय सहभागी रहँदै फेकनका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने काम गरेको छु । यिनै अनुभव र संकल्पका आधारमा मैले यस पटकको फेकनको निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएको छु ।’

उनले आफू कोषाध्यक्षमा निर्वाचित भएपछि गर्ने योजना पनि सार्वजनिक गरेका छन् । उनका योजनाहरुमा फेकनको आर्थिक सुदृढीकरणका लागि पारदर्शि र दीगो आर्थिक योजना लागू गर्ने, आइएल्टीएस्, पीटीई तथा जापानसम्बन्धी परीक्षा केन्द्रहरूसँग समन्वय गरी विद्यार्थीहरूको सहजताका लागि आवश्यक समन्वय गर्ने, बैंक, मेडिकल, ट्राभल तथा इन्स्योरेन्सका क्षेत्रहरूसँग सहकार्य गरी सदस्यहरूलाई सहयोग पुर्याउने व्यवस्था मिलाउने, आफ्नो कार्यकालमा संस्थाका लागि कम्तीमा १ करोड रुपैयाँको कोष निर्माण गर्ने, फेकनका सदस्य परामर्श व्यवसायीहरुको पेशागत दक्षता विकासका लागि फेकन कोषमार्फत कामहरु अघि बढाइनेलगायतका रहेका छन् । उनले एकातिर आर्थिक कोष बलियो बनाउनु र अर्कातिर सदस्यहरुको व्यावसायिक हितमा काम गर्नु आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले फेकनमा सदस्य बिस्तारको लागि पनि अभियान चलाउने बताएका छन् ।

उनले आफ्ना योजनाले संस्थाको हित गर्ने भएकाले संस्थाको विकासका लागि एक पटक सबैलाई मतदान गर्न र अरुलाई पनि सहयोग गरिदिनका लागि सबैलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार