काठमाडौँ । गत शुक्रबार हेटौँडामा जमिनमुनि भासिएको डीआई गाडी भूगर्भविद्को अध्ययनले समेत पत्ता लगाउन नसकेपछि भूगर्भविद्को टोली काठमाडौँ फर्किएको छ ।
मंगलबार र बुधबार दिनभर पहिलो चरणको अध्ययन गर्दा पनि गाडीको अवस्था पत्ता लगाउन नसकेपछि भूगर्भविद्को टाली आज काठमाडौँ फर्किएको हो।
ना ४ च ४८३३ नम्बरको गाडी गत शुक्रबार दिउँसो हेटौँडा १६ र १७ को सिमानामा पर्ने गौरीगाउँस्थित कच्ची सडकको हिलोमा फसेको र केही बेरमै जमिनमुनि पुरिएको थियो।
हिलोमा फसेको गाडी निकाल्ने क्रममा ५ सेकेन्डकैबीचमा उक्त गाडी जमिनमुनि हराएको थियो। उक्त गाडी र त्यस स्थानको अध्ययन गर्न काठमाडौँबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा ५ जना फिल्डमा खटिएका थिए।
हिजो दिनभर त्यस स्थानको अध्ययन र म्याग्नेटो मिटरको आधारमा गाडी भासिएको स्थान वरपर चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था अध्ययन गरेका थिए। तर, गाडीको अवस्था भने पत्ता लाग्न नसकेको भूगर्भविद् अधिकारीको भनाइ छ।
भूगर्भविद्को टोली काठमाडौँ फर्किएपछि भासिएको गाडी खोजी गर्न हेटौँडा उपमहानगरपालिकाले नयाँ तरिका अपनाउने योजना बनाएको छ।
गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । त्यही स्थानमा पहिला सात हल गोरु हराएको पनि खुलासा भएको छ ।