काठमाडौँ । काठमाडौँको तीनकुनेमा आज बिहान बसले दुईवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।
बिहीबार बिहान करिब साढे ६ बजे काठमाडौँ महानगरपालिका-३२ तिनकुनेस्थित मुनिभैरबमा बसले मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो।दुर्घटनामा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोलम्बा गाउँपालिका-३ घरभइ काठमाडौँको नयाँबजार बस्ने २७ वर्षीय पदम थापा मगर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ।
बसको ठक्करबाट भ्यानका चालक काभ्रेको मण्डनदेवपुर नगरपालिका-१ घर भइ हाल काठमाडौँ महानगरपालिका-३१ शान्तिनगर बस्ने वर्ष ३५ का रत्नबहादुर सार्की र बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएकी छन्।