मंगलवार, आश्विन १३ गते २०८३

भारतको पश्चिमी सीमामा ड्रोन आक्रमण, केही जना घाइते

शनिवार , बैशाख २७, २०८२

काठमाडौँ । भारतीय सेनाले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा आक्रमण गरेको बताएको छ। भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालयले पश्चिमी सीमामा पाकिस्तानबाट ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर आक्रमण भइरहेको बताएको हो।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ , ‘आज बिहान ५ बजे अमृतसरको खासा क्यान्टमाथि धेरै सशस्त्र ड्रोनहरू उडिरहेको देखिएको थियो। हाम्रो वायु रक्षा प्रणालीले तिनीहरूलाई विफल पारेको छ। भारतको सार्वभौमसत्ता उल्लङ्घन गर्ने र आफ्ना नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको प्रयास स्वीकार्य हुन सक्दैन।’

हिजो राति जम्मू सहरको रेहरी कोलोनीमा पनि पाकिस्तानले आक्रमण गरेको थियो। स्थानीयहरूले बीबीसीलाई बताएअनुसार आक्रमणमा धेरै घरहरूमा क्षति पुगेको छ र धेरै सवारी साधनका झ्यालहरू फुटेका छन्।

मानिसहरूका अनुसार पहिलो पटक सहरको मुटुमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरिएको छ। स्थानीय बासिन्दा राकेश गुप्ताले भने, ‘ठुलो विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुवाँले भरिएको थियो। जताततै डर र त्रासको वातावरण थियो। पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ ?’

बीबीसीका अनुसार केही व्यक्तिहरू घाइते भएका छन् जसलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह पनि घटनास्थलमा पुगेका थिए, तर लडाकु विमानहरू माथि उड्न थालेपछि तुरुन्तै त्यहाँबाट जानुपर्‍यो। हवाई आक्रमणको साइरन बजाइयो र मानिसहरूलाई क्षेत्र खाली गर्न भनिएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार