आइतवार, श्रावण २४ गते २०८३

नगरकोटमा पूर्वराजा शाहको ठुलै योजना, ओली-प्रचण्ड एक ठाँउमा उभिए, फेरि पनि...

आइतवार , बैशाख २८, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक ठाँउमा उभिएका छन् ।

फेरि राजावादीहरू सल्बलाएपछि ओली र प्रचण्ड एक ठाँउमा उभिएका हुन् । प्रधानमन्त्री ओलीले व्यवस्था विरोधी हर्कत नगर्न संसद् बैठकबाट चेतावनी दिए । तिथिमिति नै तोकेर सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फैलाइएको भन्दै ओलीले आइतबार आपत्ति नै जनाए ।

‘यतिखेर राजनीतिक अस्थिरताका कारण सिर्जित निराशालाई क्यास गर्दै हाम्रा बलिदान तथा शताब्दी लामो सङ्घर्षले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा ब्यूँताउने मात्रै हैन, तिथिमिति नै तोकेर सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिँजाइ संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक एवं अराजक गतिविधि शुरु भएको छ,’ ओलीले चेतावनी दिँदै भनेका छन् ।

सरकारको २०८२/०८३ को नीति कार्यक्रममाथि उठेका प्रश्नको आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै ओलीले देशको संविधान र कानूनअनुसार नचले कारबाही गर्नेसम्मको चेतावनी दिएका हुन् ।

‘लोकतन्त्र, संविधानको प्रणाली र शान्तिपूर्ण आन्दोलनभित्रको कुरा गर्न सिके राम्रो हुन्थ्यो भन्ने मेरो विनम्र अनुरोध छ । म यत्ति भन्न चाहन्छु, देश संविधान र कानून अनुसार चल्छ,’ ओलीले भने, ‘सबैले संविधान र कानूनअन्तर्गत चल्न तयार हुनुपर्छ । तयार हुनुभएन भने संविधान-कानूनअनुसार ट्रिट हुन्छ ।’

प्रधानमन्त्री ओलीको यो बोलीमा प्रमुख प्रतिपक्षी दलका नेता (नेकपा माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत साथ दिएका छन् । किराँत र लिम्बूवान मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलन आइतबार उद्घाटन गर्दै प्रचण्डले गणतन्त्र ल्याएको दिनको दुरुपयोग गरेर राजावादीले प्रदर्शन गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

चैत १५ गते काठमाडौंमा हत्या, वितण्डा र आतंक मच्चाएको भन्दै राजावादीलाई कथित आन्दोलनको दुस्साहस नगर्न चेतावनी दिएका हुन् । ‘चैत १५ गते तीनकुनेमा राजावादीहरूले वितण्डा देखिइसकेको छ । त्यतिबेलै मैले भने कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखे पनि बांगाको बांगै भनेको थिएँ । ती हत्यारा, मण्डले गुण्डाहरू अहिले पनि उही मण्डले गुण्डागर्दी, हत्या, आतंकमा नै गए । त्यसकारण जनतालाई छर्लंग भइसकेको छ,’ प्रचण्डले भने, ‘नेपालका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदाय आफ्नो पहिचान र अधिकारको चेतनाद्वारा जागेका छन् । यसरी जागेका जनतालाई कुनै शक्तिले रोक्न सक्दैन । यसैले म कथित राजावादीलाई चेतावनी दिन चाहन्छु । जेठ १५ गते आन्दोलनको नाममा कुनै दुस्साहस नगर्नुस् ।’

यता आइतबार मात्रै राजतन्त्र पुनःस्थापनाका लागि राजावादीहरूको संयुक्त जनआन्दोलन समितिले पब्लिकलाई आन्दोलनमा सहभागी हुन अपिल गरेको छ । संयोजक नवराज सुवेदीको संयोजकत्वमा आइतबार बसेको बैठकले जेठ १५ गतेको प्रदर्शनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई आह्वान गरेको छ ।

‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौंबाहिरका जनतालाई काठमाडौं आउन आह्वान गर्ने निर्णय भएको छ,’ बैठकको निर्णयमा उल्लेख छ, ‘काठमाडौंका जनता र सबै वर्ग, पेशा तथा समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छौं ।’

नगरकोटमा ज्ञानेन्द्र शाहले बनाएको योजना

चैत १५ गतेको आन्दोलन हिंसात्मक भनेपछि शाह केही समय मौन बसे । उनी मौन बसेपछि नारायणहिटी फर्कने अभियानबाट पछि हटेको आँकलन गरिएको थियो । तर, फेरि पछिल्ला १२ दिन पूर्वराजा शाह नगरकोटमा बसेर राजावादीलाई एक ठाउमा ल्याएपछि राजनीतिक दलका नेताहरु त्रसित भएका छन् ।

नगरकोटको सोल्टी वेस्टएन्ड रिसोर्टमा बसेर उनले राजावादी दल र अभियन्ताहरूसँग छलफल गरे । नगरकोटमा बसेर उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र नवराज सुवेदीसहितका नेताहरूलाई भेटेका छन्।

यसअघि राजावादी दलहरू एकजुट नहुँदा राजावादी आन्दोलन नै कमजोर भएपछि त्यहाँ बसेर उनले नयाँ रणनीति बनाएका हुन् । उनले नगरकोटमा छलफल थालेपछि मात्रै राजावादी शक्तिहरू एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका छन्। राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै गठन गरेको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

समितिका संयोजक नवराज सुवेदीले गत बिहीबार राप्रपा र राप्रपा नेपालका अध्यक्षलाई छेउमा राखेर आन्दोलनको घोषणा गर्दै यसमा राजावादी सम्पूर्ण शक्तिहरू एकजुट हुने दाबी गरेका थिए । घोषणा कार्यक्रममा राजेन्द्र लिङ्देन र कमल थापा पनि सहभागी थिए।

कार्यक्रमपछि राप्रपा नेपालका अध्यक्ष थापाले पहिलोपटक हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाका निम्ति सबै शक्तिहरू एकजुट भएको दाबी गरेका छन्। यसअघि ज्ञानेन्द्र फागुन गते पोखराबाट फर्किंदा उनलाई राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍यालीसहित निर्मल निवास पुर्‍याएका थिए। त्यही दिनबाट थप हौसिएका राजावादीहरूले चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुनेमा प्रदर्शन गरे।

तर उक्त प्रदर्शन हिंसात्मक बन्दा राजावादी आन्दोलन नै कमजोर बनेको थियो। त्यसपछि राप्रपाले बल्खुमा गरेको कार्यक्रम र राप्रपा नेपालले शान्तिवाटिकामा गरेको प्रदर्शन निराशाजनक देखिएपछि राजावादी शक्तिहरू समीक्षामा जुटेका थिए।

तीनकुनेको प्रदर्शनको नेतृत्व गरेका प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै हिरासतमा छन्। उनीहरूसहित २५ जनालाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो। आन्दोलनकारीले सरकारी तथा व्यक्तिका सम्पत्तिमा तोडफोड र आगजनी गर्दा सहानुभूति गुमाएको राजावादी आन्दोलन उठाउन एक महिनापछि पूर्वराजा शाह आफै सक्रिय भएका हुन्। शाह सक्रिय भएपछि ओली र प्रचण्ड एक ठाउमा उभिएका हुन् । फेरि पनि पूर्व राजा शाहले चैत १५ गतेको प्रयास गरेको खण्डमा पक्राउ गर्ने रणनीतिमा ओली प्रचण्ड छन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार