काठमाडौँ । गत वैशाख ९ गते भारतको कश्मीरस्थित पहलगाममा आतंककारीले २६ जनाको हत्या गरे । त्यसको आरोप भारतले सिधै पाकिस्तानलाई लगायो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शैन्य कारबाही भन्दा पनि पाकिस्तानसँग कूटनीतिक युद्ध लड्ने आकलन गरिएको थियो । तर, कश्मीर घटनाको १५ दिनपछि अर्थात मे ६ को मध्यराति भारतले पाकिस्तानमाथि क्षेप्यास्त्र हमला गरेपछि अन्तत यी दुई देश युद्धको सङ्घारमा पुगे ।
मध्य राति शुरु गरिएको ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाहीअन्तर्गत भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा नौवटा आतंकवादी पूर्वाधारमा मिसाइल हमला गरेको थियो । भारतीय रक्षा मन्त्रालयका अनुसार यो कारबाही राति १ : ०५ देखि १ः३० सम्म २५ मिनेटसम्म चलेको थियो ।
जवाफमा पाकिस्तानले पनि हवाइ आक्रमण गर्न थालेपछी यी दुई देशबीचको युद्ध अब लामो समय चल्ने अनुमान गरिएको थियो । तर, युद्ध भएको चार दिनपछि भने युद्ध राक्ने सम्झौतामा भारत पाकिस्तान पुगेपछि सबै चकित परे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादीको घरमा घुसेर मार्ने बचन अधुरो छाडेकै हुन् ? अहिले यो प्रश्न उठेको छ । युद्धबिरामको पहिलो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेझैँ गत शनिबारदेखि नै भारत–पाकिस्तान युद्ध रोकियो । त्यसलगत्तै भारतमा केही असन्तुष्टि देखियो – पाकिस्तानलाई जवाफ दिने मौका भारतले अधुरै किन छाड्यो ? युद्ध बिरामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार देशवासीलाई सम्बोधन गरे ।
उनले भने, ‘ भारतले स्थायी युद्धबिराम गरेको होइन, युद्ध स्थगित मात्रै गरेको हो । आगामी दिनमा हामी पाकिस्तानका हरेक गतिविधिलाई यसरी हेर्नेछौं कि उसले कस्तो रवैया अपनाउनेछ ?’ अर्थात् पाकिस्तानको गतिविधिअनुसार जवाफ दिन भारत हरदम तयार रहेको मोदीको सन्देश छ । यसमार्फत मोदीले युद्धबिरामले बढेको आन्तरिक असन्तुष्टि घटाउने कोसिस गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम लिएनन् । तर ट्रम्पले आफ्नो मध्यस्थतामा युद्धबिराम भएको दाबी गरेका थिए ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स तथा विदेशमन्त्री मर्को रुबियोले पनि अमेरिकी मध्यस्थतापछि युद्धबिराम भएको दाबी गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले गरेको सम्बोधनमा द्विपक्षीय तनाव न्यूनीकरणमा भूमिका निर्वाह गरेकोप्रति अमेरिका, ब्रिटेन, टर्की, साउदी अरब, कतार, यूएई र संयुक्त राष्ट्रसंघका महासचिवलाई धन्यवाद दिएका थिए । तर मोदीले आफ्नो सम्बोधनमा कसैलाई सम्झिएनन् ।
मोदीले भारत–पाकिस्तानको बीचमा तेस्रो पक्षको मध्यस्थतालाई स्वीकार गरेनन् । उनले भारत युद्धबिराममा सहमत हुनुको कारण खुलाउँदै भने, ‘धेरै नोक्सानी झेलिरहेको पाकिस्तानले भारतको सैन्य अभियानका महानिर्देशक (डीजीएमओ) लाई फोन गरेर पाकिस्तान आगामी दिनमा कुनै पनि आतंकवादी घटना गर्ने छैन र सैन्य दुस्साहस नदेखाउने प्रतिबद्धतापछि युद्ध बिरामी भयो ।’
मोदीको सन्देशपछि अन्तरराष्ट्रिय मामिलाका वरिष्ठ पत्रकार इन्द्राणी बागचीले भने, ‘भारतले सधैं आफ्नो नीति स्पष्ट राखेको छ कि पाकिस्तानको मामिलामा कुनै तेस्रो देशको मध्यस्थता स्वीकार गरेको छैन ।’ मोदीले दिएको सन्देशले अझै पाकिस्तानविरुद्ध पूर्ण रुपमा युद्ध नरोकिएको बताउँछ ।