काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आजको बैठकबाट महाधिवेशन निर्वाचन निर्देशिका पारित हुने भएको छ । बिहीबारबाट जारी कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ।
दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो। आजको बैठकमा बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका पारित हुने केन्द्रीय सदस्य धनराज गुरुङले शैली न्युजलाई जानकारी दिए।
यस्तै आजको बैठकबाट क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने तयारी समेत गरिएको छ। यस्तै आजको बैठकले पार्टीको आगामी १४ औं महाधिवेशनको कार्यतालिका पारित गर्ने सम्भावना देखिएको जनाएको छ। तर कार्यतालिका भने पेश भएको छैन्। काँग्रेसभित्र महाधिवेशन सार्ने सम्बन्धमा मतभेद छ।
संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ। तर केन्द्रीय समिति बैठकमा आउने रायलाई समेटेर नयाँ कार्यतालिका ल्याउने तयारीमा कांग्रेसका शिर्ष नेता सहमत छन्।