काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ पार्टी गठनको आन्तरिक गृहकार्यमा जुटेको छ। अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रुपमा अगाडि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको छ।
विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रुपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ। नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओलीपक्ष एकलौटी रुपमा अघि बढेपछि आफूहरुसँग नयाँ पार्टी गठनको विकल्प नभएको बताएका छन्। आफूहरुको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको स्पष्ट पार्दै खतिवडाले ओली पक्षले एकताका लागि ढोका नै बन्द गरेको आरोप लगाएका छन्।
नेपाल पक्षका अधिकांश सांसद नयाँ पार्टी गठन गरी सरकारमा जानुपर्ने अडानमा रहेका छन्। ओली पक्षले नेपाल पक्षका अधिकांश सांसदलाई पार्टीको भन्दा सत्ताको बढी मोह भएको आरोप लगाइरहेको छ। अध्यक्ष ओली पक्षबाट पार्टी कब्जा गरेर मनोमानी रुपमा विधान संशोधन गर्दै सबै अधिकार अध्यक्षमा केन्द्रित गर्ने प्रयास भएको उनले बताएका छन्। तर पनि आफूहरु अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहेको र पहल जारी राख्ने उनले बताएका छन्।
अन्तिम अवस्थामा पार्टी एकताबद्ध नभएको अवस्थामा छुटै पार्टी गठन गरेर अघि बढ्नुको अर्को विकल्प नभएको खतिवडाले बताएका छन्। ओली पक्षका नेताहरुले भने नेपाल पक्ष पार्टी एकतामा कहिल्यै पनि गम्भीर नरहेको र नयाँ पार्टी खोल्ने बहाना खोजिरहेको बताए। नेता नेपालले नयाँ दल गठन गर्नुभन्दा अघि नेताहरुसँग छुटाछुटै रुपमा छलफल गरिरहेको जनाइएको छ।
वरिष्ठ नेता नेपालले आफूनिकट नेतासँग छुट्टाछुट्टै छलफल गर्दै ओलीको कार्यशैली नसुधे्रकाले नयाँ दल गठन गरेर अघि बढ्नुपर्ने विषयमा छलफल गरिरहेको स्रोतको भनाइ रहेको छ। नेपाल निकटका अर्का नेता रचना खड्काले कार्यदलले गरेको १० बुँदे प्रस्तावको उल्लंघन गर्ने काम ओली पक्षबाट भएको आरोप लगाएकी छन्।
नेपाल पक्षले पार्टीका सबै आधिकारिक पत्रमा दुबै नेताको संयुक्त हस्ताक्षर हुनुपर्ने अडान राखेको छ। एकअर्कालाई विश्वास गर्ने वातावरण नभएकाले २ नेताको संयुक्त हस्ताक्षरपछि नै आधिकारिता प्रमाणित हुने गरी सहमति भएमा पार्टी एकताबद्ध हुने बुझाइ नेपाल पक्षको रहेको छ। तर ओली पक्षले नेपाल पक्षको सो प्रस्ताव अस्वीकार गर्दै आएको छ। २ नेताको संयुक्त हस्ताक्षर वा २ अध्यक्षको व्यवस्था आवश्यक नरहेको ओली पक्षका नेताको अडान रहेको छ।
आजको राजधानी दैनिकमा समाचार छ।