आइतवार, श्रावण २४ गते २०८३

डडेल्धुराबाट सरकार ढाल्ने प्रचण्डको प्रयास : देउवालाई फोन, जनार्दन बुढानीलकण्ठ पुगेपछि...

शुक्रवार , जेठ ३, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले डडेलधुरामा छन्। पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गतको अभियानको सुरुवात गर्न डडेलधुरा पुगेका हुन् ।

डडेल्धुराबाट प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउने प्रयास गरेका छन् । प्रचण्डले देउवालाई त्यहीँबाट फोन समेत गरे । डडेलधुरा सभापति देउवाको गृहजिल्ला हो। २०४८ देखि डडेल्धुराबाट देउवा निरन्तर जित्दैँ आएका छन् ।

फोनमार्फत ‘प्रचण्डले म डडेलधुरा आएको छु भन्दा देउवाले स्वागत छ जिल्लामा भनेका थिए । प्रचण्डले डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा आफू र देउवाबीच टेलिफोन संवाद भएको जानकारी गराए। देउवासँगको टेलिफोनबारे प्रचण्डले भने, ‘डडेलधुरा शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो ।’ देउवासँगको अन्य कुराकानीबारे भने प्रचण्डले खुलाएनन् । 

प्रचण्डले फोन गर्नुको कारण भनेको, ‘कांग्रेसलाई आफ्नो पोल्टामा ल्याउनु हो ।’ आफूले फोनवार्ता गरे लगत्तै देउवालाई भेट्नको लागि प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई बुढानीलकण्ठ पठाए । शर्माले पनि प्रचण्डको सन्देश देउवालाई सुनाएका थिए । देउवाले के जवाफ दिए ? त्यसबारे बाहिर आएको छैन । जनार्दन शर्मा बुढानीलकण्ठ पुगेपछि सरकार ढाल्ने खेल सुरु भएको टिकाटिप्णी हुन थालेका छन् । 

२०८० मंसिर १५ गते प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुराबाट देउवालाई फोन गरेका थिए । देउवालाई फोन गर्दा ओली प्रमुख प्रतिपक्षी दलको नेता थिए ।

प्रचण्ड पनि अहिले प्रमुख प्रतिपक्षी दलको नेताकै रूपमा छन् । त्यसबेला ओलीले फोनमा भनेका थिए, ‘देउवा जी म तपाईँको जिल्ला आइपुगेको छु । एकदमै राम्रो लाग्यो यहाँको वातावरण ।’ जवाफमा देउवाले भनेका थिए,‘मेरो जिल्लामा स्वागत छ।’ ओलीले डडेल्धुरा पुगेर देउवालाई फोन गरेको सात महिनापछि ओली–देउवाबिच निर्णायक छलफल भई सरकार परिवर्तन भएको थियो ।

के फेरि प्रचण्डले पनि यस्तै राजनीतिक उपलब्धिका लागि ‘फोन कूटनीति’ अघि सारेका त होइनन् भन्ने चर्चा भइरहेको छ । प्रचण्डले यसभन्दा अघि पनि पटक पटक सरकार ढाल्नको लागि प्रयास गरेका थिए । तर, प्रचण्डका ती प्रयास सफल भएनन् । गत चैत्र १५ गते राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डले देउवालाई प्रधानमन्त्रीको अफर नै गरेका थिए । तर, देउवाले नमानेपछि ओली सरकार ढाल्ने प्रचण्डको प्रयास सफल हुन सकेको छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार