काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा छुटेका छन्। काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो।
उनी वैशाख १७ गते पक्राउ परेका थिए। प्रहरीले उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।
विष्टले आफूखुसी प्रहरीमा पत्राचार गरेको भेटिएपछि सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो।
त्यसअघि अदालतले उक्त पत्रमाथि आन्तरिक छानबिन गरेको थियो। अदालतले दिएको प्रतिवेदनका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
महिमानले लेखेको पत्रका आधारमा रेशम ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए। त्यही दिन हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो।