बुधवार, आश्विन १४ गते २०८३

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

बुधवार , आश्विन १४, २०८३

काठमाडौँ । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल आज (बुधबार) बिहान स्वदेश फर्किएका छन्।

त्यही कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भने असोज १० गते स्वदेश आइपुगेका थिए। त्यसको ४ दिनपछि परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता भएका हुन्। 

संयुक्त राष्ट्रसङ्घको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उहाँ आज बिहान स्वदेश फर्किएका हुन्। 

उनी महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। 

भ्रमणका दौरान मन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न मुलुकका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गरी आपसी हितका विविध विषयमा छलफलसमेत गरेका थिए। 

सक्रिय सहभागिता, भेटवार्ता र छलफलले उनको भ्रमण अन्तरराष्ट्रिय मञ्चमा मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि गर्न निकै फलदायी भएको बताइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार