काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको छ । जसका कारण ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ ।
बाढीले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो ।
भोटेकोसी बाढीले त्रिशूली करिडोरबाट आउने विद्युत् अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको प्रवक्ता मोहनकुमार शाक्यले बताए । उनका अनुसार, नेपाल विद्युत् प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ ।
मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणका लागि छलफल गरेको छ । प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माणको कार्य अगाडि बढाएको छ ।
कतिपय ठाउँमा भूमिगत वैकल्पिक विद्युत् ग्रिडको विश्वसनीयताका लागि र थप भूमिगत ग्रिड निर्माण गर्नका निम्ति सडक विभाग र काठमाडौं महानगरपालिकासँग निश्चित तालिकासहित हिउँदको विद्युत् व्यवस्थापनको सहकार्य लागि छलफल गरिएको प्रवक्ता शाक्यले बताए ।