धनगढी । कञ्चनपुरको महाकाली नदीमा आएको बाढीका कारण दोधारा–चाँदनी झोलुंगे पुलको एक भाग (स्पान) भत्किएको छ । बुधबार बिहान नदीको बीच भागमा भत्किँदा पुल क्षतिग्रस्त भएको हो ।
पुल भत्किएसँगै कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाबीचको यातायात तथा सञ्चार सम्पर्कविच्छेद भएको छ ।
विगतमा महाकाली पारिको गाउँ भनेर चिनिने दोधारा–चाँदनीलाई यो झोलुंगे पुल बनेपछि मात्र नेपालको मूल भूमिसँग सडक सञ्जालले जोडेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता टेक रावतका अनुसार, भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधाराचाँदनी नगरपालिकातर्फबाट तेस्रो नम्बरमा पर्ने पुलको भाग भत्किएको हो ।
पुलको बीचको भाग भत्किएपछि दोधारा–चाँदनी र भीमदत्त नगरबीच आउजाउ गर्ने मुख्य बाटो पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।