काठमाडौँ । गभर्नर नियुक्ति लगायत एजेन्डामा छलफल गर्न बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित भएको छ । सोमबार साँझ ६ बजे बस्ने तय गरिएको बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज साँझ भेट हुने भनिएको थियो । ओली देउवाबीच साँझ ७ बजे भेट्ने समय तय भए पनि स्थगित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताइएको थियो। प्रधानमन्त्री ओलीलाई भेट्न देउवा नगएपछि मन्त्रिपरिषद् बैठक पनि अनिश्चित समयका लागि स्थगित भएको हो । मन्त्रिपरिषद् बैठकको अनिश्चयसँगै गभर्नर नियुक्ति पनि अनिश्चित बनेको छ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ १ गतेको पत्रकार सम्मेलनमा ४ दिनभित्रै गभर्नर नियुक्त गरिसक्ने दाबी गरेका थिए।
गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ। विभिन्न स्वार्थ समूहको दाउपेच र सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहमा कुरा मिल्न नसकेका कारण गभर्नर नियुक्ति प्रभावित हुँदै आएको छ।
केही समय अगाडि मात्रै गभर्नर किन नियुक्त नगरेको भन्दै देउवाले ओलीलाई झपारेका थिए । आज ओलीलाई भेट्न देउवा नगएपछि कतै सरकार ढल्ने त होइन भन्ने प्रश्न खडा भएको छ ।
जेठ २ गते मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डडेल्धुराबाट देउवालाई फकाउने प्रयास गरेका थिए । प्रचण्डले देउवालाई त्यहीँबाट फोन समेत गरे ।
प्रचण्डले फोन गर्नुको कारण भनेको, ‘कांग्रेसलाई आफ्नो पोल्टामा ल्याउनु हो ।’ आफूले फोनवार्ता गरे लगत्तै देउवालाई भेट्नको लागि प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई बुढानीलकण्ठ पठाए । शर्माले पनि प्रचण्डको सन्देश देउवालाई सुनाएका थिए । देउवाले के जवाफ दिए ? त्यसबारे बाहिर आएको छैन । जनार्दन शर्मा बुढानीलकण्ठ पुगेपछि सरकार ढाल्ने खेल सुरु भएको टिकाटिप्णी हुन थालेका छन् ।
यसैबीच आज देउवाले ओलीलाई भेट्न अटेर गरेपछि सरकार ढल्न लागेको हो की भन्ने आशंका पैदा गरेको छ । ओलीले सरकारमा आफ्नो मनपरि गर्न थालेपछि कांग्रेसका नेताहरुले देउवालाई सरकार ढाल्न दाबाब दिदै आइरहेका छन् ।