काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको खेलमा पराजित भएका छन् । एक महिना देखि प्रधानमन्त्री ओलीले गभर्नरको विषयलाई लिएर कांग्रेसलाई घुमाइ रहे । कांग्रेसले गभर्नरमा आफूले चाहेको मान्छे हुनुपर्ने अडान राखेको थियो ।
बाहिरी रुपमा ओलीले सहमति जनाए पनि भित्री रुपमा भने ठुलै जालझेल गरे । अन्तिममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झपारेपछि ओली गभर्नर नियुक्तिको खेलमा पराजित भएका हुन् । प्रधानमन्त्री ओलीले रिक्त भएको एक महिनापछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेका छन्। तर, यसका लागि उनले देउवाको थर्काइ खानु पर्यो ।
वैशाख ३ गते नै देउवाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओलीलाई नाम दिएका थिए। तर, आफू निकट कायममुकायम गभर्नर नीलम ढुङ्गानालाई गभर्नर बनाउने ओलीको ठुलो धोको थियो । देउवाले गभर्नर बनाउने भनेपछि भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट दिए । तर उनको राजीनामा राष्ट्र बैंककै कायममुकायम गभर्नर ढुङ्गानाले स्वीकृत गरिनन् । यो ओलीको पहिलो जालझेल थियो ।
त्यसबेला देउवा साताव्यापी उपचारका लागि बैंकक गएका थिए। यता भट्टको राजीनामा स्वीकृत पनि भएन र गभर्नर नियुक्ति गर्ने सिफारिस समितिको बैठक पनि बसेन। यसले कांग्रेस नेताहरू असन्तुष्ट बन्दै गए। देउवा स्वदेश फर्किएपछि वैशाख १३ गते ओली भेट्न बालुवाटार पुगे । देउवाले ओलीलाई गभर्नर नियुक्तिमा ढिलाइको कारण सोधे। ओलीले प्राविधिक कारणले रोकिएको जवाफ दिए।
भट्टको राजीनामा कुनै हालतमा स्वीकृत नगर्ने निलमको अडान थियो । त्यसपछि वैशाख २० र २१ गते फेरि ओली भेट्न देउवा बालुवाटार पुगे । गभर्नर नियुक्तिले पार्टीभित्र दबाब बढेको सन्देश लिएर पुगेका देउवासमक्ष ओलीले वैशाख २४ गते भट्टको राजीनामा स्वीकृत गराएर २५ गते गभर्नर नियुक्त गर्ने समयसीमा दिए। यही सन्देश लिएर देउवा फर्किए। सोही कुरा पार्टीका नेतालाई दिए। समय सिमा सकिए पनि ओलीले फेरि आलटाल गरिदिए ।
फेरि ओली भेट्न देउवा बालुवाटार पुगे । देउवा आक्रोशित देखिएपछि यसपटक ओलीले कुरा फेरे। भट्टलाई गभर्नर बनाउन नसकिने भयो भन्दै ओलीले देउवा समक्ष नयाँ नाम दिन आग्रह गरे। वैशाख २६ गते पार्टीको पदाधिकारी बैठकमा देउवाले ओलीबाट आएको नयाँ विकल्पबारे ब्रिफिङ गरे। यसैबीच वैशाख २७ गते देउवाले ओलीसमक्ष अर्थविद् डा विश्व पौडेललाई गभर्नर बनाउने नयाँ प्रस्ताव गरे। अर्थमन्त्री पौडेल संयोजकत्वको गभर्नर सिफारिस समितिका विज्ञ सदस्य रहेका पौडेलको नाम आएपछि ओलीले मिलाएर गर्ने जवाफ दिए।
पौडेलले वैशाख २८ गते गभर्नर सिफारिस समितिबाट राजीनामा दिए। तर, उनलाई पनि गभर्नर नियुक्त गर्न ओलीले आनाकानी गरे । त्यसपछि आइतबार ओलीलाई ४८ घण्टाभित्र आफूले भनेका मान्छेलाई गभर्नरमा नियुक्त गर्न अल्टिमेटम दिए । प्रधानमन्त्री ओलीले सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बोलाएपछि देउवालाई लाग्यो अब गभर्नर नियुक्त गर्छन। तर, गभर्नर नियुक्ति लगायत एजेन्डामा छलफल गर्न बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित भयो । देउवा र ओलीबीच भेटघाट हुने कार्यक्रम पनि स्थगित भयो ।
ओलीले गभर्नरमा विश्व पौडेललाई नियुक्त नगर्ने सन्देश दिएपछि दुबै बैठक स्थगित भएका थिए । ओलीले झुलाउन थालेपछि देउवा मंगलबार बिहान रिसको झोकमा बालुवाटार पुगे । बालुवाटारमा निकै आक्रोश पोख्दै देउवाले ओलीलाई झपारे । एक घण्टाभन्दा बढी समय बालुवाटारमा बसेका देउवाले अधिकांश समय ओलीको कार्यशैलीमा समेत प्रश्न उठाए।
देउवाले झपारेपछि ओलीले गभर्नर नियुक्ति आजै टुंगो लगाउने जवाफ दिए । देउवाकै सामु ओलीले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर सिफारिस समितिको बैठक राख्न निर्देशन दिए। त्यसपछि देउवा निस्किए। लगत्तै विष्णु पौडेलले सिफारिस समितिको बैठक बोलाए।
अपरान्ह ४ बजे सिफारिस समितिको बैठक बस्यो। जसले पौडेलसहित ३ जनाको नाम सिफारिस गयोै। र, साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्यो। यससँगै ओलीको गभर्नर खेल पनि समाप्त भएको छ ।