आइतवार, श्रावण २४ गते २०८३

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक : कांग्रेस-एमालेका शीर्ष नेताबीच भेटवार्ता, के भयो छलफल ?

आइतवार , जेठ १२, २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा फसेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री समेत रहेका उपाध्यक्ष विष्णु पौडेल, कृषिमन्त्री समेत रहेका रामनाथ अधिकारी र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए ।

एमाले सचिवालय बैठक पछि प्रधानमन्त्री ओलीले कांग्रेससँग छलफल गरेका हुन् । एमालेका नेताहरुले गृहमन्त्रीलाई बर्खास्त गर्नको लागि ओलीलाई दबाब दिइरहेका छन् । बालुवाटारमा कांग्रेससँग छलफलमा प्रधानमन्त्री ओलीले बाहिर आएको कुरा के हो ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री लेखकले आफ्नो र सरकारको बदनाम गर्नको लागि यो षडयन्त्र रचिएको बताएका छन् । देउवाले पनि यस विषयमा चासो राखेका थिए । तर, गृहमन्त्रीको राजीनामाबारे छलफल नभएको स्रोतको दाबी छ । 

चौतर्फी गृहमन्त्री लेखकको राजीनामाको माग भइरहेको छ । भिजिट भिसा प्रकरणमा लेखकको हात भएको आशंका पनि पैदा भएको छ । अख्तियारले अनुसन्धान थालेपछि लेखकले अध्यागमनका कर्मचारीको रातारात सरुवा गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयअन्तर्गत अध्यागमन कार्यालयबाट १६ कर्मचारीको सरुवा भइसकेको छ।

सहसचिव तीर्थराज भट्टराईसहित १६ कर्मचारी यही प्रकरणमा जोडिएकै कारण सरुवामा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको संगठित जालो उच्च तहबाटै सञ्चालित रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। अख्तियारले भिजिट भिसामा विभिन्न श्रम गन्तव्यमा नेपाली युवालाई पठाउने र गैरकानुनी रूपमा श्रममा लगाउने गिरोहबारे थप प्रमाण संकलनको काम भइरहेको पनि बताएको छ।

अख्तियारले सहसचिव भट्टराईसहितका कर्मचारी गिरोहका मतियार मात्र रहेको र यो उच्च तहबाटै सञ्चालित रहेको निष्कर्ष निकालेर अनुसन्धान सुरु भएको जनाएको छ। नेपाली श्रमिक विदेश जाँदा गर्नुपर्ने प्रक्रिया सबै छलेर अवैध रूपमा रकम असुल गर्दै भिजिट भिसामा गन्तव्य मुलुक पठाइरहेको र त्यो रकम माथिल्लो तहमा कहाँसम्म पुग्थ्यो भन्ने सुराक पनि पाइसकेको आयोगका अधिकारीहरूको भनाइ छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार