काठमाडौँ । गृहमन्त्री रमेश लेखक मानव तस्करी प्रकरणमा मुछिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बैठक बोलाए ।
बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले गृहमन्त्री पदबाट राजीनामा दिन लेखकलाई निर्देशन दिने धेरैको अनुमान थियो । कांग्रेसका नेता डा. शेखर कोइराला लगायतका नेताहरूले लेखकले पदबाट राजीनामा दिनु पर्ने भन्दै सार्वजनिक रूपमै भनिरहेका छन् ।
नेकपा एमालेले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री लेखकले राजीनामा नदिए बर्खास्त गर्न दबाब दिइरहेको छ । चौतर्फी दबाब आउन थालेपछि देउवाले लेखकलाई राजीनामा दिन निर्देशन दिने अनुमान गरिएको हो । तर, त्यसो भएन । उल्टै देउवा गृहमन्त्री लेखकको ढाल बने ।
बैठकमा गृहमन्त्री लेखकले पार्टीलाई अप्ठ्यारो नपार्न राजीनामा दिन तयार रहेको बताए । भिजिट भिसा प्रकरणमा निकटस्थ कर्मचारीहरू जोडिएपछि गृहमन्त्री रमेश लेखकले पार्टीलाई अप्ठ्यारो नपार्न राजीनामा दिन तयार रहेको बताएका हुन् । बैठकको सुरुवात नै भिजिट भिसा प्रकरणबाट भएको थियो। सभापति देउवासहितका नेताले लेखकलाई यसबारे प्रष्टिकरण दिन आग्रह गरेपछि लेखकले आफ्नो धारणा राखे। लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको विषय पटकपटक बैठकमा दोर्होयाउँदै मार्ग प्रशस्त गर्न तयार रहेको बताए।
‘यसमा मेरो कुनै संलग्नता छैन। पार्टीभित्रैबाट पनि असहयोग भयो। शेखर डाक्साबहरू सहितबाट सार्वजनिक बेइज्जती गर्ने काम भयो । मेरो कारणले पार्टीलाई अप्ठ्यारो नै परेको भए म राजीनामा दिन तयार छु। मार्ग प्रशस्त गरिदिन्छु। होइन भने मेरो दोष केही छैन।’, गृहमन्त्री लेखकले भने ।
गृहमन्त्रीले प्रष्टिकरण दिएपछि देउवाले लेखकलाई ढाडस दिँदै राजीनामा दिनु नपर्ने बताए। ‘यसलाई हामीले पनि नियालिरहेका छौँ। राजीनामा दिनुपर्देन । आफ्नो काम के हो, गर्दै जानू। यस विषयमा धेरै चिन्ता लिनुपर्दैन। ’, देउवाले भने ।
पार्टी सभापति देउवा नै लेखकको पक्षमा उभिएपछि बैठकले भिजिट भिसा प्रकरण राजनीतिक रुपमा बदनाम गर्न गरिएको प्रचारबाजी ठहरसमेत गरेको छ । बैठकपछि कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता नै नहुँदा लाञ्छना लगाउने काम भइरहेको बताए। ‘उहाँ (लेखक) को कुरा सुनेर म छर्लङ्ग भएँ। उहाँको कुनै किसिमको गल्ती छैन। एक इन्च पनि गलत गर्नुभएको छैन। लाञ्छना लगाइएको छ, यो गलत हो। भोलि उहाँ हाउसमा (संसद्) बोल्नुहुन्छ।’, उनले भने ।
पूर्वमहामन्त्री कोइरालाले बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने पार्टीका तीन नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरिएको पनि बताए। उनले डा शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्नुको विकल्प नभएको बताएका हुन् । आफ्नो पक्षमा देउवा उभिएपछि गृहमन्त्री लेखक पदबाट राजीनामा नदिने निष्कर्षमा पुगेका छन् ।