आइतवार, श्रावण २४ गते २०८३

आफ्नै रेकर्ड तोड्दै कामीरिताले ३१ औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

मंगलवार , जेठ १४, २०८२

काठमाडौँ । कामीरिता शेर्पाले आफ्नो पुरानो ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

आज मंगलबार बिहान आरोहण गरेर उनले यसअघि बनाएको आफ्नै रेकर्ड तोडेका हुन्। रेकर्ड तोडिएसँगै उनले नयाँ विश्व रेकर्डसमेत बनाएका हुन्।

गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि १० दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए।

‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार, ३१ औं पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाई। सेभेन समिटसँगको यात्रामा।’ उनका अनुसार कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए।

यसपटक उनी लेफ्टिनेन्ट कर्णेल मनोज जोशीको नेतृत्वमा रहेकाे २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए। दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार