काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले उप–प्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ । निर्देशक उप–प्राध्यापक यादवले विश्वविद्यालयको शैक्षिक मर्यादामा आँच आउने गरी शैक्षिक अपराध गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ ।
आज विश्वविद्यालयले कानून संकायमा अनियमितता तथा कारवाही सम्बन्धी भर्चुअल मार्फत पत्रकार सम्मेलन गरी विद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयको इन्जिनियरिङ तर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक विश्वनाथ यादवलाई विश्वविद्यालयले बर्खास्त गरेका जानकारी दिए ।
उपकुलपति सिंहले अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उप–प्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको बताए ।
प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अंक दिएर विद्यार्थी उत्तीर्ण गराएको पाइएपछि विश्वविद्यालयले कारबाही गरेको उनको भनाई छ ।
यस अघि परीक्षामा भएको अनियमितता छानबिन गर्न प्रा.डा.दीपबहादुर रावलको नेतृत्वमा समिति गठन गरिएको थियो । कार्यक्रम निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूुल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो ।
यस्तै, उनले परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाइएको हो। छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो ।
परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो । समितिले यादवलाई स्पष्टीकरण पनि सोधेको थियो ।
स्पष्टीकरणबाट पनि चित्तबुझ्दो जवाफ नआएपछि निर्देशक यादवलाई विश्वविद्यालयले स्थायी उप–प्राध्यापक पदबाटै बर्खास्त गरिएको पत्र काटेको उपकुलपति सिंहले बताए ।