मंगलवार, आश्विन १३ गते २०८३

मुस्ताङ जाने बाटोमा ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने

मंगलवार , आश्विन १३, २०८३

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम कोरला खण्डका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले सडक पूर्ण रूपमा सञ्चालन हुन एक साताभन्दा बढी समय लाग्ने बताइन् ।

जिल्लास्थित विभिन्न सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकमा असोज ८ देखि ११ गतेसम्म भारी वर्षा र हिमपातले पुर्‍याएको क्षति तथ्याङ्क प्रस्तुत गर्दै कोरला सडकका आयोजना प्रमुख शर्माले पर्वत-मालढुङ्गा खण्डमा पाँच, बेनीबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्सेसम्म १६, म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरबाट जोमसोम हुँदै कोरलानाकासम्मको विभिन्न २५ ठाउँमा लेदो र ग्रेगानसहितको बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको जानकारी दिइन् ।

आयोजना प्रमुख शर्माका अनुसार भारी वर्षाका कारण आएको बाढीपहिराले कोरलानाका सडकको पर्वत-मालढुङ्गा सडकखण्डको लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेत सडकमा क्षति पुगेको छ ।

म्याग्दीको बेनीबाट अन्नपूर्ण गाउँपालिका(३ रुप्सेसम्मको सडकखण्डअन्तर्गत गलेश्वर, रघुगङ्गा पुल, बैसरी एक, बैसरी दुई, बैसरी तीन, बेगखोला, महभिर, भिरकाटे, पोखरेबगर, तातोपानी, नारच्याङ, जलथले, सुकेबगर, खामभित्ता, दाना, लाटो खोला, रुप्से खोलालगायत सडकमा लेदोसहितको बाढीपहिरो र नदी कटानले सडक संरचनामा ठूलो क्षति पुगेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार