काठमाडौँ । जेठ १५ गते गणतन्त्रको विरुद्धमा गरेको आन्दोलन सफल भएको राजावादीको दाबी छ ।
गणतन्त्रवादी दलहरुको कार्यक्रममा अपेक्षीत रुपमा कार्यकर्ता पनि सहभागि नहुँदा राजतन्त्र पक्षधरहरुको आन्दोलनमा भने बाक्लो संख्यामा राजा आउ देश बचाउ भन्दै जनता सहभागि भए ।
जेठ १५ गतेको आन्दोलन सफल भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह आफै सडकमा आउने भएका छन् । गणतन्त्र दिवसको विरुद्धमा गरेको आन्दोलनको नेतृत्व राप्रपाले गरेको थियो ।
तर, अब आन्दोलनको नेतृत्व शाह आफैले गर्ने राप्रपाको दाबी छ । पूर्वराजा शाहले राजनीतिक दलहरुलाई २०४७ को संविधानमा फर्कन प्रस्ताव गरेका छन् । २०४७ सालको संविधानमा फर्किएपछि मुलुक संवैधानिक राजतन्त्रमा जाने छ । राष्ट्रपतिको ठाउमा राजा हुनेछन् र नेपाल पून हिन्दु राज्य हुनेछ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रको पक्षमा जनता कता छन् भन्ने बारेमा जेठ १५ गते रत्नपार्कमै जनमत संग्रह भएको दावी गरेका छन् । राजसंस्था फर्काउने अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन बिजुलीबजार पुलमा उभिएर पत्रकारसँग कुरा गर्दै लिङ्देनले अब राजासहितको नवीन समझदारीको विकल्प नरहेको दावी गरे । अध्यक्ष लिङ्देनले राजासहितको नवीन समझदारीमा आउन सरकार र दलहरुलाई आग्रह गर्दै आन्दोलन त्यतिन्जेल जारी रहने बताएका हुन् ।
साथै राजतन्त्र पक्षधरहरुले भोलि नारायणहिटी दरबार अगाडि प्रदर्शन गर्ने भएका छन् । यसैबीच काठमाडौँ प्रशासनले नारायणहिटी दरबार आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेश पत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहलाय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरेका हुन्। अब राप्रपाले निषेधित क्षेत्र तोडेर आन्दोलन गर्छ की गर्दैन भन्नेबारे भोलि नै थाहा हुनेछ ।