काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्दैछ ।
स्कटल्यान्डको फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे सुरु हुने भएको छ । नेदरल्यान्ड सम्मिलित सिरिजमा नेपाली टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ । सिरिजको तयारीका लागि नेपाली टोलीले स्कटल्यान्ड कै ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो । त्यसअघि नेपालले बेलायतमा पनि अभ्यास खेल खेलेको थियो ।
लिग–२ मा नेपाल आफ्नो १३ औँ खेल खेल्न लागेको हो । स्कटल्यान्डको भने यो १७ औँ खेल रहेको छ । सिरिजको १२ खेलमा २ खेल मात्र जित निकालेको नेपाल ८ खेलमा हार भोग्दै ६ अंक तालिकाको पुछारमा रहेको छ । लिगको १६ खेलमा ९ खेल जित र ५ खेलमा हार भोग्दै २० अंक भएको स्कटल्यान्ड चौथो स्थानमा रहेको छ ।
लिगको २० खेलमा १२ खेल जित, ६ खेलमा हार र २ खेलमा अंक बाँडेको नेदरल्यान्ड २६ अंक तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १४ खेलमा जित र ६ खेलमा हार भोग्दै २८ अंक भएको अमेरिका अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।