काठमाडौं । नेकपा माओवादी केन्द्रले २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको छ । केन्द्रको केन्द्रीय कमिटी बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको दुई प्रतिवेदन सर्वसम्मतिले पारित गर्यो ।
केन्द्रको बैठकले जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिने निर्णय पनि गरेको छ । साथै २०७८ असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गर्ने, . असोज २० गते वडा सम्मेलन, ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन गर्ने र मङ्सिर १५ गते प्रदेश सम्मेलन गर्ने भएको छ ।
त्यस्तै २०७८ पुस ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने, संघीयताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समिति मात्रै रहने, लगायत निर्णय समेत आजको बैठकले गरेको छ ।