आइतवार, आश्विन २५ गते २०८३

प्रधानमन्त्री देउवाले भने: ‘अफगानिस्तानमा भएका नेपालीको उद्दार गर्छु’

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गरिने बताएका छन्।

समाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन  दिई सकिएको उल्लेख गरेका छन्। 

त्यस्तै उनले सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको पनि बताएका छन्। देउवाले सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने पनि बताएका छन्। 

तालिबान लडाकुहरूले अफगानिस्तानका महत्त्वपूर्ण सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ भएका नेपाली नागरिकहरूलाई नेपाल सरकारले आफ्नो सम्पर्कमा आउन हिजै आग्रह गरेको छ। अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो।

परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्यालले प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको जानकारी दिए।

समितिले हिजै काम थालेको उनले जानकारी दिए।अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए। नेपालीहरु काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनले उल्लेख गरे। अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरु स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए। 

सरकार दुतावास तथा अफगानिस्तानमा रहेका नियोगहरूसँग सम्पर्कमा रहेको उनले बताए। मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सुचना जारी गर्ने, जहाँबाट भएपनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुलर सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक/एक वटा फोनलाई ह्वाट्स एप र भाइवरमा लिंक गरेर सञ्चालन गर्ने पनि सचिव पौड्यालले बताए। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार