काठमाडौं । आउँदो साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक भएको छ ।
कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड रहेका छन् ।
बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा पछिल्लो समयकी लोकप्रिय गायिका शान्तिश्री परियार रहेकी छन् । प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले गरेका छन् ।
राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्मको गीत रिलिज कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले फिल्मको गीत जस्तै फिल्म पनि उत्कृष्ट बनेको होस् भन्दै सफलताको शुभकामना दिएका छन् । फिल्मको गीत रिलिज कार्यक्रममा निर्देशक सानेले ‘सिटामोल’ले आफ्नो करिअर बदल्ने दाबी गरेका छन् । उनले भने, ‘यो हामीले एकदमै दुःखले बनाएको फिल्म हो । म दाबी गरेर भन्न सक्छु कि ‘सिटामोल’ले मेरो करिअर बदल्नेछ। मैले बनाएको अहिलेसम्मकै राम्रो फिल्म सिटामोल हो ।’ यो फिल्मले नेपाली समाजको यथार्थ कथा प्रस्तुत गरेको निर्देशक सानेको भनाई रहेको छ ।
फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय देख्न सकिन्छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोलकुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।