काठमाडौं । लोकगायक पशुपति शर्माले व्यंगात्मक गीत ‘झोले त तैं, झोले त मैं’ सार्वजनिक गरेका छन् । शर्माले बिहीबार आफ्नो अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।
गीतमा पशुपतिको शब्द, स्वर र संगीत रहेको छ । सार्वजनिक गीतमा शर्माले राजनीतिक दल, नेतादेखि कार्यकर्तासम्मलाई व्यंग्य गरेका छन् । छाडा गीत गाउनेदेखि क्यामेरामा भाइरल हुने प्रवृत्तिसम्मलाई पनि उनले व्यंग्य गरेका छन् । रमाइलो शैलीमा तयार यो गीतले खराब व्यक्ति र प्रवृत्तिमाथि व्यंग्य गरेको छ ।
गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गरेका छन् । उनीसँगै जेरी भण्डारी भिडिओमा देखिएका छन् । जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन रहेको छ ।
केही दिनअघि सत्तारुढ दल नेकपा एमालेले ‘म झोले’ अभियान सञ्चालन गरेको थियो । उनले यसैलाई पनि व्यंग्य गरेका छन् । उनले व्यंग्य गर्दै शीर्ष नेताहरू सही, खराब त आफूमात्रै भएको भनेका छन् । एमालेको म झोले अभियानको चौतर्फी आलोचना भइरहेको छ ।