काठमाडौं। जनता समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकूरसहित केहि नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटन बालुवाटार पुगेका छन्।
ठाकुर बिहानै नेता सरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णसहित केहि नेतालाई लिएर बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीसँग भएको भेटमा नेता ठाकुरले सक्दो छिटो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेको जनाइएको छ।
जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेको भन्दै सहजीकरणका लागि अध्यादेश ल्याइदिन आग्रह गरेको स्रोतले जनाएको छ। जसपा नेता कर्णले आफुहरु प्रधानमन्त्रीलाई भेट्न वालुवाटार गएको शेली न्युजलाई जानकारी दिए।
तर उनले प्रधानमन्त्रीसंगको भेटमा आफ्ना माग मुद्धाका विषयामा भइरहेको सुनुवाईका विषयमा जानकारी लिइएको बताए। ‘हाम्रो जुन माग थियो। संसदमा प्रधानमन्त्रीले जुन प्रतिवद्धता जनाउनु भएको थियो। हाम्रो मागका सन्दर्भमा के भैराख्या छ? भने प्रधानमन्त्रीलाई सोध्यौँ।’ कर्णले शैली न्युजसंग भने।
तपाईहरुले त दल विभाजन सम्बन्धी अध्यादेश चाँडो ल्याइदिन पर्यो भनेर प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो रे नी? भन्ने प्रश्नमा कर्णले आफुहरुले त्यो कुरा नगरेको बताए। उनले सरकारले यो अध्यादेश ल्याए आफुहरुलाई भन्दा पनि एमालेको माधव नेपालका लागि ल्याउन लागेको होला भन्ने बताए।