काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठक स्थगित भएको छ । विद्यालय शिक्षा विधेयकमा थप छलफल गर्न शिक्षा मन्त्रालयले समय माग गरेपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
विधेयकलाई अन्तिम रूप दिन आज बिहान ८ बजे बैठक बोलाएको थियो । तर, विधेयकमा सहमति जुटेका कतिपय विषयहरूमा समेत नेपाल शिक्षक महासंघले अहसमति जनाएपछि शिक्षा मन्त्रालयले थप समय माग गरेको थियो । शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग थप छलफल गर्न समय मागेका थिए । महासंघसँग छलफल गरेपछि दिउँसो २ बजे समिति बैठक बस्ने भएको हो।
महासंघले राहत तथा आन्तरिक शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषय लगायतका केही विषयमा असहमति जनाएको छ । विधेयकमा आन्तरिक ६० प्रतिशत र खुला ४० प्रतिशत गर्ने सहमति जुटेको थियो ।
तर, महासंघले ७५/२५ गर्नुपर्ने अडान राख्दै आएको छ । सहमति जुटेका विषयमा महासंघसँग थप छलफल गरेर विधेयक पारित गर्ने तयारी गरिएको छ ।