काठमाडौं । शिक्षकहरूको आन्तरिक र खुला प्रतिपस्पर्धाको विषयमा सहमति नभएपछि नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको छ ।
शिक्षक महासंघले आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुलामा २५ प्रतिशत पदपूर्ती हुनुपर्ने माग राखेको थियो । शिक्षा मन्त्रालयले ७५/२५ को रेसियोमा जान नसकिने जनाएपछि सहमति हुन सकेको छैन् । मन्त्रालयले खुलाबाट ६० प्रतिशत र आन्तरिक प्रतिष्पर्धाबाट ४० प्रतिशत शिक्षक छनोट हुने प्रस्ताव गरेको छ । तर, शिक्षक महासंघले यसमा असन्तुष्टि जनाएको छ ।
शिक्षक महासंघले असन्तुष्टि जनाएपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग छलफल गरेका थिए । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ७५/२५ को रेसियोबारे कुरा उठेपछि शिक्षा मन्त्रालयले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक रोकेर शिक्षक महासंघसँग छलफल गरेको थियो । उपसमितिले आन्तरिकमा ६० र खुलामा ४० प्रतिशत प्रतिष्पर्धा हुने सहमती जुटाएको छ ।
तर, सांसदहरूले शिक्षकहसँग खुलामा २५ र आन्तरिकमा ७५ प्रतिशत हुने सहमति भएको थियो भन्दै यो विषयमा पुनः छलफल गर्न भनेका थिए ।