काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि भुटानलाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको हो । पाचौँ विकेटका लागि जय थापा र रौनक श्रीवास्तवले १ सय २५ बलमा १ सय ६१ रनको साझेदारी गरेपछि नेपाल विशाल योगफलतर्फ उन्मुख भएको थियो ।
नेपालका लागि रौनकले १ सय ६८ रनको महत्वपुर्ण योगदान दिएका छन् । उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दा सञ्जय दोर्जीको बलमा जिग्मे सम्द्रुपको हातबाट क्याच आउट हुन पुगे । जय थापा ६१ रनमा अविजित रहे । उनले ६७ बलमा ७ चौका प्रहार गरेका छन् । सचिन भट्ट ८ रनमा नटआउट रहे ।
विकेट किपर श्रीवांस बजगाइ ५४ रनमा रन आउट भए । सुगम बुढाथोकीले ३५ रन थपे । ओपनर परिमहर्जन यादन २ र प्रसिद्ध जैसी ७ रनमा पेभेलियन फर्के ।
भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिएमन छन् । तेन्जिङ जाम्त्सोले एक विकेट आफ्नो नाममा गरे । भुटानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।