काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नेपालको फुल कन्ट्याक्ट कराँतेलाई विधिसम्मत रूपमा मान्यता दिई गठन गरिएको तदर्थ समितिको सम्मानमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार त्रिपुरेश्वरस्थित रंगशालामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व आयोजक तथा फुल कन्ट्याक्ट कराँतेका संस्थापक महागुरु सिहान जगत प्रसाद गौचनले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राखेपका सदस्य सचिव टंकलाल घिसिङको विशेष उपस्थिति रहेको थियो।
विशेष अतिथिका रूपमा राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ र बोर्ड सदस्य जगत सिंह धामी, साथै अतिथिका रूपमा तदर्थ समिति संयोजक सुर्य बहादुर बुढाथोकी र प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा तदर्थ समितिका सदस्यहरू, फुल कन्ट्याक्ट कराँते संघहरूका ब्रान्च चिफ (नेपाल प्रमुख), पूर्व मुख्य प्रशिक्षक, प्रशिक्षक, खेलाडी, अभिभावक, शुभचिन्तक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा खेलकुदप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा २१ सदस्यीय तदर्थ समितिलाई औपचारिक सम्मान गरिएको थियो। उपस्थित सहभागिहरूको उत्साह, ऐक्यबद्धता र प्रतिबद्धताले कार्यक्रमलाई विशेष, सफल र स्मरणीय बनाएको थियो।
कार्यक्रमको प्रारम्भमा आयोजकको तर्फबाट स्वागत मन्तव्य प्रस्तुत गर्दै तदर्थ समिति गठनप्रति खुशी व्यक्त गरियो र सबै पाहुनाहरूलाई हार्दिक स्वागत तथा धन्यवाद दिइयो।
प्रमुख अतिथि टंकलाल घिसिङले नेपालमा फुल कन्ट्याक्ट कराँतेको विकास र अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न अबको यात्रालाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। उनले भने, “संरचना बनेको छ, अब गुणस्तरीयता र प्रतिस्पर्धात्मकताको यात्रा सुरु हुन्छ। राखेप सधैं साथमा रहनेछ।”
विशेष अतिथि जगत सिंह धामीले महासंघलाई जिम्मेवार, पारदर्शी र समर्पित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उनले भने, “खेलकुद क्षेत्रमा संस्थागत संरचना बलियो हुनु नै विकासको आधार हो।”
कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले कराँतेमा एकता, अनुशासन र समर्पण आवश्यक भएको बताउँदै महासंघले सबैको विश्वास जित्ने गरी सञ्चालन हुनु पर्ने कुरामा जोड दिए। उनले भने, “फुल कन्ट्याक्ट कराँते समुदायको साझा भविष्य बनाउने अवसर हो यो।”
तदर्थ समिति संयोजक सुर्य बहादुर बुढाथोकीले महासंघप्रति विश्वास र साथ जनाउने सबैप्रति आभार प्रकट गर्नुभयो। उहाँले महासंघको भविष्यप्रति सकारात्मक सोच, सहयोग र सहभागिताको अपेक्षा व्यक्त गरे।
कार्यक्रमको समापन मन्तव्य सभापति शिहान जगत प्रसाद गौचनले दिएका थिए। उनले कराँतेलाई अनुशासन, संस्कार र जीवनशैलीसँग जोड्दै भने, “महासंघको निर्माण मेरो सपना थियो, जुन आज साकार भएको छ। अब हामी सबैले एकताबद्ध भई फुल कन्ट्याक्ट कराँतेलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठित रूपमा स्थापित गर्न लागि पर्नु आवश्यक छ।”
कार्यक्रम अन्त्यमा महासंघले अब छिट्टै संरचनात्मक तथा प्राविधिक कार्यहरू अघि बढाउने जानकारी दिएको थियो। महासंघले निकट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता विकासमा योगदान दिने अपेक्षा गरिएको छ।