काठमाडौं । घरेलु टोली मलेसियामाथि सहज जित निकाल्दै नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । दोस्रो विकेटका लागि ओपनर परिमहर्जन यादव र श्रीवांस बजगाइले ४५ बलमा ७५ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज लक्ष्य भेट्टाएको हो । परिमहर्जन ५९ र श्रीवांस २३ रनमा नटआउट रहेका थिए । परिमहर्जनले ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे । अर्का ओपनर प्रसिद्ध जैसी २ रनमा क्याच आउट भएका हुन् ।
त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेनेङगर टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली ४३.१ ओभरमा ९० रनमा अलआउट भएको हो । मलेसियाका लागि मोहम्मद फाथुल मुइनले बनाएको ३८ रन नै सर्वाधिक हो । कप्तान डियाज पट्रोले १० रन थपेका थिए । अनय ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
मलेसियालाई सस्तैमा रोक्न नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिएका थिए । उनले आफ्नो स्पेलमा मात्र १५ रन खर्चे घातक बलिङ गरेका शुभम खनालले आफ्नो स्पेलमा ३ विकेट लिदा मात्र १२ रन खर्चेर ४ ओभर मेडन राखेका हुन् । विपिनप्रसाद शर्मा र सचिन भट्टले समान एक विकेट आफ्नो नाममा गरेका छन् ।
नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा अहिले हङकङ र सिगांपुर भिडिरहेका छन् । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको सिंगापुरले जवाफी ब्याटिङ गरिरहेको छ ।