काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधिका लागि फाइनलमा नेपाली युवा टोलीले सिंगापुरसँग खेल्ने भएको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाल चौथो पटक उपाधि नजिक पुगेको थियो । मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।
आजै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको हो । हङकङलाई हराएसँगै सिंगापुरले प्रतियोगितामा नेपालसँग दोस्रो भेट तय गरेको हो । समूह चरणमा सिंगापुर नेपालसँगमात्र पराजित भएको थियो । नेपाल समूह ए को विजेता र सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । समुह ए का दुई टोलीले फाइनलमा स्थान बनाएसँगै समुह बी का दुवै टोली अन्तिम चारबाटै बाहिरिएका छन् ।
दोस्रो सेमिफाइनलमा हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिगांपुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भएको थियो ।