काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले आफ्ना निकट सहयोगी रहेका इलोन मस्कले नयाँ राजनीतिक दल घोषणा गरेकामा टिप्पणी गरेका छन्।
अमेरिकामा तेस्रो पार्टी खोल्नुलाई हस्यास्पद भन्दै ट्रम्पले मस्कको आलोचना गरेका हुन्। ‘मलाई लाग्छ- तेस्रो पक्ष सुरु गर्नु हास्यास्पद छ’, ट्रम्पले आइतबार एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो सधैँ दुई-दलीय प्रणालीमा छ र मलाई लाग्छ- तेस्रो पक्ष सुरु गर्नाले भ्रम अरू बढ्छ।’
यति मात्र होइन, मस्कले राजनीतिक दल गठन गर्न लागेकमा ट्रम्पले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पनि टिप्पणी गरेका छन्।
‘मलाई मस्क पूर्ण रूपमा लिकबाहिर गएको देख्दा दु:ख लागेकाे छ, बितेका पाँच हप्तामा उनी एक रेलको भग्नावशेषमा परिणत भएका छन्’, ट्रम्पले लेखेका छन्, ‘अमेरिकामा त्यस्तो सफल नभएको तथ्यका बाबजुद उनी तेस्रो राजनीतिक दल सुरु गर्न चाहन्छन्।’