काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले पनि सरकारले हिजो ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोध जनाएका छन्। उनले समाजिक सञ्जाल फेशबुक मार्फत संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्।
‘संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत‚ ‘हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत।’ उनले लेखेका छन्। केपी शर्मा ओली सरकारले उक्त विधेयक ल्याउँदा विरोध गर्नेहरुले आज शेरबहादुर देउवा सरकारले ल्याउँदा समर्थन गर्ने हक नभएको उनले बताएका छन्।
‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन, हुँदैन। समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ। सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन, हुँदैन। विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’ उनले लेखेका छन्।