काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विद्यार्थीको उत्साहलाई सत्कर्ममा बदल्नुपर्ने बताएकी छिन् ।
काठमाडौंको कान्तिपुर सिटी कलेजका बीबीएका विद्यार्थीहरुले हालै प्रकाशन गरेको जर्नल ‘स्कलर्स’ को विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले पुस्तक प्रकाशन गर्ने कार्य जटील भएको बताइन् । बीबीए सन् २०२० को व्याचले प्रकाशन गरेको १० औं संस्करणको पुस्तकको चर्चा गर्दै प्रमुख अतिथि राणाले पुस्तक प्रकाशन गर्ने काम आफैंमा समस्या भएको बताइन् । ‘धेरै सामग्री संकलन गरेर, सम्पूर्ण प्रकारका सामग्रीलाई उचित व्यवस्थापन गरेर पुस्तक प्रकाशन गर्ने विद्यार्थीको यो साहसिक कामको प्रशंसा गर्छु’ उनले भनिन्, ‘हरेक क्षेत्रको बारेमा ज्ञान दिन पुस्तक सफल भएको छ, यो आफैंमा चानचुने कुरा होइन ।’
राणाले नेपालमा जुनसुकै क्षेत्रको पनि राम्रो सम्भावना भएको भए पनि सरकार र निजी क्षेत्रले त्यसलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरिन् । उनले अध्ययनका लागि विदेश गएका विद्यार्र्थीले पनि नेपाल फर्केर आएर केही गरेर देखाउनुपर्नेमा जोड दिइन् । जर्नलमा कृषि, पर्यटन, उर्जा, सूचना प्रविधिलगायतका विभिन्न विषयका लेख रचनाहरु समेटिएका छन् । उनले विद्यार्थीको उत्साहलाई निरन्तरता दिनका लागि पनि आग्रह गरिन् ।
उनले जुनसुकै क्षेत्रमा पनि व्यवस्थापकीय जिम्मेवारी महत्वपूर्ण हुने भएकाले त्यो अनुसारको भूमिकामा रहने गरी सक्रिय भएर अगाडि बढ्न पनि विद्यार्थीलाई प्रोत्साहित गरिन् । विविध मनोरन्जनात्मक कार्यक्रमसहित भएको विशेष कार्यक्रममा जर्नलको बारेमा विभिन्न व्यक्तिहरुले चर्चा गरेका थिए । २५ वर्षअघि स्थापित कान्तिपुर सिटी कलेजले सन् २००८ देखि बीबीए सञ्चालन गर्दै आएको छ ।