प्रतिवेदनअनुसार दुवै इन्जिनको फ्युल कन्ट्रोल स्विचहरू ‘रन’बाट ‘कट–अफ’मा सारिएको पुष्टि भएको छ । सामान्यतया यस्तो प्रक्रिया विमान गन्तव्यमा अवतरणपछि मात्र गरिन्छ । तर कुनै आपतकालीन अवस्था नदेखिएको प्रतिवेदनमा उल्लेख छ । विमानमा इन्धनको नमूना परीक्षण सन्तोषजनक पाइएको छ ।
प्रारम्भिक प्रतिवेदनअनुसार विमानको कुनै यान्त्रिक दोष वा सफ्टवेयर त्रुटिको पुष्टि भएको छैन । तथापि, सबै निष्कर्ष आउन अझै समय लाग्ने देखिन्छ ।
गत जुन १२ मा भारतको अहमदाबाद शहरमा एअर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटना भएको थियो ।
दुर्घटनामा २४१ जना यात्रुसहित २६० जनाको ज्यान जानुका साथै पाँचवटा भवनहरूमा क्षति भएको थियो ।
दुर्घटनाको कारणबारे यसअघि विज्ञहरूले विमानमा चरा ठोक्किएको हुन सक्ने अनुमान गरेका थिए। तर, विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजले उडान मार्गमा कुनै चराको उल्लेखनीय गतिविधि नदेखिएको प्रतिवेदनमा उल्लेख छ। यसले गर्दा चरा ठोक्किएर दुर्घटना भएको सम्भावना नरहेको प्रतिवेदनले सुझाएको छ।
एयर इन्डियाको फ्लाइट १७१ जुन १२ मा अहमदाबादबाट लन्डनका लागि उडेको थियो र उडेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो।