काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वमै सबैभन्दा पुरानो चिकित्सा अभ्यास रहेको दाबी गरेका छन् ।
सोमबार त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु हाम्रो चिकित्सा विज्ञान शास्त्र, ज्ञान र अभ्यासको विश्वमा सबैभन्दा पुरानो इतिहास यहाँ छ । यस भूभागमा छ ।’ प्रधानमन्त्री ओलीले एलोपेथिक चिकित्सा विज्ञान सम्बन्धी चिकित्सा ज्ञानका प्रादुर्भावकर्ता हिप्पोक्रेटस २४ सय वर्ष अगाडिका रहेका र नेपालमा ३ हजार वर्ष अगाडि नै सर्जरी नै विकास भइसकेको बताएका छन् ।
ओलीले भने, ‘तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सर्जरी गरेका थिए । खेल्दाखेल्दै एउटा साथीको औंलो काटिएर छुट्टिएपछि उनले औंलो ल्याएर जोडेका थिए । त्यहाँबाट शल्यक्रियाको दृष्टान्त पाइन्छ ।’ प्रधानमन्त्री ओलीका अनुसार नेपालमा जनसंख्या कम भएकोले सुश्रुतले वनारस गएर शल्यक्रिया राम्ररी अगाडि बढाएका थिए । उनले भने, ‘जहाँको भए पनि मानव जातिको सेवा गरे ।’
प्रधानमन्त्री ओलीले भने, ‘अनेक ऋषिहरू, जनक ऋषि यहीँका थिए । पाणिनीलाई चरकका सन्तान भनिन्छ । अथवा चरक अर्घाखाँचीका थिए भने पाणिनी अर्घाखाँचीका थिए ।’ चरकलाई आयुर्वेद र चिकित्साशास्त्रका जनक भनेर मानिने प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भने, ‘त्रेतायुगमा लक्ष्मण बेहोस हुँदा हनुमानले जडिबुटी खोजेर ल्याएर खुवाएका थिए । चार हजार वर्षभन्दा अगाडिको समयलाई त्रेतायुग भनिन्छ त्यो समयमा पनि यहाँ स्वास्थ्य विज्ञानको, स्वास्थ्य अभ्यासको व्यवस्था विकास भएको थियो । त्यसपछि यहाँ धेरै यस्ता विधाहरू विकास भए ।’
प्रधानम्नत्री ओलीले हिप्पोक्रेटसभन्दा अगाडि चरक र अरू ऋषिमुनिहरूले चिकित्सा विज्ञानको नेपालमा विकास गरेको जिकिर गरेका छन् । उनले भने, ‘उसबेला अहिलेको जस्तो प्रोफेसरलाई ऋषिमुनि भन्ने चलन थियो, त्यसरी चिकित्सा विज्ञानको आदिम र उद्गम स्थल यस ठाउँमा अहिले हामी पछाडि परिरहेका छौं ।’
उनले नेपालमा धेरै मानिसहरू बिरामी भइरहेको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् ।