सोमवार, श्रावण २५ गते २०८३

पुटिनमाथि ट्रम्पको आक्रोश: दिनमा मीठो कुरा गर्छन्, रातमा बम पड्काउँछन्

सोमवार , आषाढ ३०, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनमाथि आक्रोश पोख्दै युक्रेनलाई प्याट्रियट मिसाइल पठाउने घोषणा गरेका छन् । 

ट्रम्पले पुटिनलाई ‘मीठो कुरा गर्ने, तर रातमा सबैलाई बमले उडाउने’ नेताको रूपमा चित्रण गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसविरुद्धको लडाइँमा सहयोग गर्न प्याट्रियट मिसाइल पठाउने बताएका छन् । 

उनले युक्रेनलाई यी हतियारहरू ‘नितान्त आवश्यक’ भएको उल्लेख गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यशैलीप्रति कडा टिप्पणी गरे । 

ट्रम्पले भने, ‘पुटिनले दिनमा मीठो कुरा गर्छन्, तर रातमा सबैलाई बमले उडाउँछन् । यो ठूलो समस्या हो, मलाई यो मन पर्दैन ।’ ट्रम्पको यस्तो वक्तव्य नेटो महासचिव मार्क रुटले सोमबार र मंगलबार वासिङ्टन डीसीमा ट्रम्पसँग भेट्ने तयारी गरिरहेका बेला आएको हो । गत साता ट्रम्पले नेटोमार्फत् युक्रेनलाई अमेरिकी हतियार पठाउने नयाँ सम्झौता भएको खुलासा गरेका थिए ।

ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘म भोलि नेटो महासचिवसँग भेट्दैछु । हामी युक्रेनलाई विभिन्न उच्च प्रविधियुक्त सैन्य उपकरणहरू पठाउँदैछौं र ती सबैको १०० प्रतिशत खर्च युरोपेली युनियनले बेहोर्नेछ । हामी कुनै खर्च गर्दैनौं । यो हाम्रो लागि राम्रो समाचार हो । हामी प्याट्रियट मिसाइल पठाउँछौं, जुन युक्रेनलाई अति आवश्यक छ ।’

ट्रम्पले कति संख्यामा हतियार पठाउने भन्ने सहमति नभइसकेको बताए । उनले भने, ‘हामीले अहिलेसम्म सङ्ख्यामा सहमति गरेका छैनौं, तर युक्रेनलाई केही हतियार अवश्य प्राप्त हुनेछ । किनभने उनीहरूलाई सुरक्षाको खाँचो छ ।’

यो सम्झौता अन्तर्गत अमेरिकाले नेटोलाई हतियार पठाउनेछ र नेटोले ती हतियार युक्रेनलाई हस्तान्तरण गर्नेछ । खर्च भने नेटो सदस्य राष्ट्रहरूले नै बेहोर्नेछन् ।

यसअघि जुलाईको शुरूमा पेन्टागनले युक्रेनलाई पठाइने प्याट्रियट मिसाइल इन्टरसेप्टर र १५५ एमएम तोपहरूको आपूर्ति रोकेको थियो । पोलिटिकोको रिपोर्टअनुसार रक्षा नीतिका उपसचिव एल्ब्रिज कोल्बीले अमेरिकी हतियार भण्डारको समीक्षा गरेपछि युक्रेनलाई हतियार पठाउने निर्णय लिइएको थियो । ट्रम्पले त्यतिबेला अमेरिकाको हतियार भण्डार कम भएको बताएका थिए । 

त्यसको एक सातापछि पेन्टागनले आफ्नो निर्णय उल्टाएर युक्रेनलाई हतियार दिने भएको हो । पेन्टागनका प्रवक्ता सीन पर्नेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘रक्षा मन्त्रालयले राष्ट्रपतिको निर्देशनमा युक्रेनलाई थप रक्षात्मक हतियार पठाउँदैछ । हामी दीर्घकालीन शान्ति र हत्याको अन्त्य सुनिश्चित गर्न चाहन्छौं ।’

उनले थपे, ‘हाम्रो विश्वभर सैन्य आपूर्तिको मूल्यांकन गर्ने ढाँचा कायमै छ र यो हाम्रो अमेरिका पहिलो रक्षा प्राथमिकताको अभिन्न अङ्ग हो ।’

युक्रेन र रुसबीचको युद्ध सन् २०२२ को फेब्रुअरीदेखि जारी छ । रुसले युक्रेनमाथि आक्रमण शुरू गरेपछि पश्चिमी मुलुकहरूले युक्रेनलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । 

प्याट्रियट मिसाइल हवाई रक्षा प्रणालीका लागि महत्त्वपूर्ण छन् । यी मिसाइलहरूले रुसी मिसाइल र ड्रोन आक्रमणबाट युक्रेनको शहर र सैन्य अखडालाई जोगाउन सक्छन् ।

ट्रम्पको यो कदमले युक्रेनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । तर, यसले अमेरिका(रुसबीचको तनावलाई पनि बढाउन सक्छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार