काठमाडौँ । नेता माधवकुमार नेपाल नयाँ दल दर्ता गरेपछि उनलाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका केही नेताहरुले साथ छोडेका छन् । नेपालले नयाँ दल गठन गरेपछि उनिहरु अलगिएका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेका स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए ।
स्थायी कमिटीका सदस्य बेदुराम भुसाल पनि नयाँ दल दर्तामा सहभागी रहेका छन् । एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन गरेको कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए । समाचार अनुसार विवाद समाधान कार्यदलका सदस्य रहेका कुनै पनि नेताहरु नयाँ दल गठनमा सहभागी भएनन् ।
उनिहरुले साथ छोडेको नछोडेको भने खुलेका छैनन् । सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका छन् । यससंगै नेकपा एमाले भने औपचारिक रुपमै विभाजन भएको छ ।